काठमाडौं । त्रिभुवन विश्वविद्यालय ले आफ्नो स्वामित्वमा रहेको कीर्तिपुरस्थित क्रिकेट रंगशाला खाली गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई ३५ दिनको अल्टिमेटम दिएको छ।
त्रिविले क्यानसहित १८ वटा संघ–संस्थालाई पत्र पठाउँदै आफ्नो मातहतका जग्गा फिर्ता गर्न निर्देशन दिएको हो। गत वैशाख ४ गते जारी सूचनाअनुसार अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियान अन्तर्गत सम्बन्धित निकायलाई समयसीमा तोकिएको छ।
त्रिविका सामान्य प्रशासन महाशाखा प्रमुख राजबहादुर राई का अनुसार क्यानसँग भएको सम्झौता यही वैशाख अन्तिममा सकिँदैछ र विश्वविद्यालयले अब उक्त सम्झौता नवीकरण नगर्ने तयारी गरेको छ।
‘त्रिविको जग्गा प्रयोग गरिरहेका सबै निकायलाई छुट्टाछुट्टै पत्राचार गरी ३५ दिनभित्र खाली गर्न भनिएको छ,’ राईले बताएका छन्।
यो निर्णय ‘त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१’ को आधारमा गरिएको हो। उक्त प्रतिवेदनले त्रिविको ठूलो परिमाणको जग्गा विभिन्न संघसंस्था, निजी तथा अन्य निकायले अनधिकृत रूपमा प्रयोग गरिरहेको उल्लेख गरेको छ।
प्रतिवेदनअनुसार करिब दुई हजार रोपनीभन्दा बढी जग्गा १८ वटा संस्थाद्वारा उपयोग भइरहेको छ भने कीर्तिपुर क्षेत्रमै झन्डै १५ सय रोपनी जमिन विभिन्न निकायको भोगचलनमा रहेको देखिएको छ। यसैगरी करिब ८४३ रोपनीभन्दा बढी जग्गा सरकारी तथा गैरसरकारी निकायले प्रयोग गर्दै आएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले त्रिविको जग्गा व्यवस्थापनमा अनियमितता र मिलेमतोको आशंका औँल्याउँदै ऐन, नियम र कानुन विपरीत जमिन कब्जा तथा प्रयोग भइरहेको निष्कर्ष निकालेको छ। त्रिविले अब आफ्नो स्वामित्वमा रहेका सम्पत्ति फिर्ता ल्याउने प्रक्रिया तीव्र बनाउने संकेत दिएको छ।

