काठमाडौँ । नयाँ वर्ष २०८३ को अवसर पारेर औद्योगिक शान्ति नेपाल संस्था को आयोजनामा ‘तेस्रो गोकर्णेश्वर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८३’ सञ्चालन हुने भएको छ।
महोत्सव वैशाख २४ गतेदेखि जेठ ९ गतेसम्म गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित हनुमान चोक मा आयोजना गरिने आयोजकले जनाएको छ।
उपभोक्तालाई एकै स्थानबाट दैनिक उपभोग्य सामग्री सर्वसुलभ मूल्यमा उपलब्ध गराउने तथा स्थानीय प्रतिभाको खोजी गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सवमा औद्योगिक उत्पादन, सूचना तथा विज्ञान–प्रविधि, अटोमोबाइल तथा विद्युतीय उपकरण, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्री, लत्ताकपडा तथा भाँडाकुँडाको प्रदर्शनी तथा बिक्री–वितरण गरिनेछ। साथै पर्यटनसँग सम्बन्धित विविध गतिविधि पनि समेटिनेछन्।
करिब दुई लाखभन्दा बढी अवलोकनकर्ताले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ। आकर्षणका रूपमा एशियाकै उत्कृष्ट भनिएको बाल उद्यान, रोटेपिङ, ड्रागन, ट्रेन, रेन्जर, नाउ लगायत बालबालिकाका खेल सामग्री, विविध खाना महोत्सव तथा दैनिक रूपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ।
त्यसैगरी ‘प्रथम गोकर्णेश्वर डान्स आइडल’ प्रतियोगिता समेत सञ्चालन गरिनेछ, जसको संयोजन शिखर छहारी सांस्कृतिक कला केन्द्र ले गर्नेछ। महोत्सवको मुख्य प्रवेशद्वार ‘लन्डन ब्रिज’ शैलीमा निर्माण गरिने जनाइएको छ।
कुल १२० वटा स्टल रहने महोत्सवमा स्थानीय उत्पादन तथा महिला उद्यमीहरूका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ। गोकर्णेश्वर नगरपालिका को सिफारिसमा स्थानीय सीप, कला र उत्पादनलाई प्राथमिकता दिइनेछ।
महोत्सवको प्रवेश शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ। विद्यार्थी सहुलियतका लागि परिचयपत्र अनिवार्य गरिएको छ भने जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र पाँच वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
जेठ ८, ९ र १० गते विशेष कन्सर्ट आयोजना गरिने र सो अवधिमा प्रवेश शुल्कमा परिवर्तन हुन सक्ने आयोजकले जनाएको छ।
आयोजकले सम्पूर्ण सञ्चारमाध्यमलाई महोत्सवको प्रचार–प्रसार गरी कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।

