काठमाडौं । सस्मित पोखरेल ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भत्काइने विषय निराधार रहेको स्पष्ट पारेका छन्। सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले राज्यको लगानी रहेको संरचना भत्काउने कुनै योजना नरहेको बताएका हुन्। “राज्यको यत्रो लगानी भएको छ, दुवै राज्यकै निकाय हुन्, भत्किने भन्ने हुँदैन,” उनले भने।
यसअघि त्रिभुवन विश्वविद्यालय ले आफ्नो स्वामित्वमा रहेका भौतिक संरचना खाली गराउन विभिन्न संस्थालाई पत्राचार गरेको थियो। सोही क्रममा नेपाल क्रिकेट संघ (क्यान) लाई पनि क्रिकेट मैदान खाली गर्न पत्र पठाएपछि विवाद उत्पन्न भएको थियो।
यस विषयमा आफूले सोमबार बिहान त्रिविका पदाधिकारीसँग छलफल गरेको जानकारी दिँदै मन्त्री पोखरेलले सकारात्मक निष्कर्षतर्फ अघि बढिएको बताए। उनका अनुसार त्रिविको उद्देश्य मैदान खाली गराउने नभई लिज अवधि सकिएकोले नयाँ सम्झौता आवश्यक भएको हो।
“लिज सकिएकाले नयाँ किसिमको लिज एग्रिमेन्ट गर्नुपर्नेछ, त्यसमा कुनै समस्या छैन,” उनले भने। त्रिवि र क्यानबीचको हालको सम्झौता यही महिनामा सकिँदैछ। विश्वविद्यालयले क्रिकेट गतिविधिका कारण पठनपाठनमा असर परेको भन्दै सम्झौता नवीकरण नगर्ने संकेत दिएको थियो। तर अब दुवै पक्षबीच नयाँ समझदारीमार्फत समाधान खोजिने देखिएको छ।

