काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाका गोदाममै नौ करोड रुपैयाँभन्दा बढी मूल्यका औषधीको म्याद सकिएको पाइएको छ।
महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार विभिन्न सरकारी अस्पताल र स्वास्थ्य निकायमा रहेका ९ करोड ७ लाख १७ हजार रुपैयाँ बराबरका औषधी उपयोग नै नगरी म्याद गुज्रिएका हुन्।
प्रतिवेदनअनुसार स्वास्थ्य सेवा विभागले खरिद गरेका २८ प्रकारका औषधीको म्याद सकिएको छ। ती औषधीको मूल्य ४ करोड ७२ लाख २० हजार रुपैयाँ रहेको छ। यस्तै, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले खरिद गरेका ६ प्रकारका ४७ लाख ७० हजार रुपैयाँ बराबरका औषधी पनि म्याद गुज्रिएको अवस्थामा भेटिएका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले खरिद गरेका ६०१ प्रकारका औषधीको म्याद सकिएको छ। यसको मूल्य १ करोड ४३ लाख ७५ हजार रुपैयाँ रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ करोड १९ लाख ९६ हजार रुपैयाँ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ करोड २३ लाख ५६ हजार रुपैयाँ बराबरका औषधीको म्याद सकिएको पाइएको छ।
महालेखाले औषधी खरिद, मौज्दात व्यवस्थापन र वितरण प्रणालीमा गम्भीर कमजोरी देखिएको औँल्याएको छ। स्वास्थ्य संस्थाले आपूर्तिकर्ताबाट खरिद गरेको औषधीको म्याद समाप्त भएमा, टुटफुट भएमा वा बिक्रीरप्रयोग नगरी अत्यधिक मौज्दात रहेमा सम्झौताका सर्तअनुसार आपूर्तिकर्ताबाट प्रतिस्थापन गराउनुपर्ने व्यवस्था छ।

