२०८३, आश्विन १९ गते

images
  • समाचार
  • २२ वर्षपछि उत्तरगंगा जलाशय आयोजना ८२८...

२२ वर्षपछि उत्तरगंगा जलाशय आयोजना ८२८ मेगावाटको ‘मेगा प्रोजेक्ट’ निर्माण चरणमा

२२ वर्षपछि उत्तरगंगा जलाशय आयोजना ८२८ मेगावाटको ‘मेगा प्रोजेक्ट’ निर्माण चरणमा

आइतवार, जेठ ३ २०८३०१:३३
आइतवार, जेठ ३ २०८३०१:३३
  • images

    काठमाडौं । बागलुङको ढोरपाटन क्षेत्रमा निर्माण हुने बहुप्रतीक्षित ८२८ मेगावाट क्षमताको ‘उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना’ अन्ततः निर्माण प्रक्रियातर्फ अघि बढेको छ । दुई दशकभन्दा बढी समयदेखि चर्चामा रहे पनि विभिन्न नीतिगत, वातावरणीय र वित्तीय कारणले रोकिँदै आएको यो आयोजना अब विस्तृत तयारीसहित कार्यान्वयन चरणमा प्रवेश गरेको हो ।

    नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘उत्तरगंगा पावर कम्पनी लिमिटेड’ले अघि बढाएको यो आयोजना नेपालको ऊर्जा सुरक्षाका लागि ‘गेम चेन्जर’ परियोजनाका रूपमा हेरिएको छ । आयोजनाबाट विशेषगरी हिउँदमा हुने विद्युत अभाव अन्त्य गर्न तथा वर्षायाममा खेर जाने ऊर्जा व्यवस्थापन गर्न ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    आयोजनाको कुल अनुमानित लागत १.०८ बिलियन अमेरिकी डलर अर्थात् करिब १ खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत करिब १९ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ । प्रारम्भिक अध्ययनका क्रममा प्रतिमेगावाट लागत साढे १७ करोड रुपैयाँ हाराहारी रहने अनुमान गरिए पनि अमेरिकी डलरको विनिमय दर बढ्दा लागत थप चुलिएको हो । यद्यपि, जलाशययुक्त आयोजनामध्ये यो तुलनात्मक रूपमा सस्तो परियोजनामध्ये एक मानिएको छ ।

    विसं २०६१ सालदेखि चर्चामा रहेको आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन २०७६ सालमै वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको थियो । तर, स्वीकृति प्रक्रिया लम्बिँदा चार वर्षपछि मात्रै २०८० माघ २ गते ईआईए स्वीकृत भएको हो ।

    यो आयोजना बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ तथा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा निर्माण हुनेछ । उत्तरगंगा नदीमा २०० मिटर अग्लो र ८४० मिटर लामो ‘रक-फिल’ बाँध निर्माण गरी विशाल जलाशय बनाइनेछ । उक्त जलाशय १४ किलोमिटर लामो र १२.१७८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिनेछ ।

    आयोजनाको कुल जल भण्डारण क्षमता ४५५.९५ मिलियन घनमिटर रहनेछ भने उपयोगी भण्डारण क्षमता ४१९.९८ मिलियन घनमिटर हुने बताइएको छ । जलाशयको अनुमानित आयु ५० वर्ष रहने अध्ययनमा उल्लेख छ ।

    समुद्री सतहबाट करिब १३५० मिटरको ‘ग्रस हेड’ प्रयोग गर्दै आयोजनाले ७९.०६ घनमिटर प्रतिसेकेन्ड पानी उपयोग गर्नेछ । बाँधबाट संकलित पानीलाई ६.५१ किलोमिटर लामो र ७ मिटर व्यास भएको सुरुङमार्फत निसीखोला क्षेत्रमा खसालिनेछ ।

    आयोजनामा दुई वटा ठूला भूमिगत विद्युतगृह निर्माण गरिनेछन् । पहिलो विद्युतगृहमा १०६.५ मेगावाट क्षमताका चार वटा ‘भर्टिकल शाफ्ट पेल्टन टर्बाइन’ जडान गरिनेछ भने दोस्रो विद्युतगृहमा पनि समान क्षमताका चार वटा टर्बाइन रहनेछन् । पहिलो विद्युतगृहबाट निस्किएको पानीलाई पुनः प्रयोग गरेर दोस्रो चरणमा समेत विद्युत उत्पादन गरिने भएकाले आयोजनाको दक्षता उच्च हुने प्राधिकरणको दाबी छ ।

    उत्पादित विद्युत ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत बागलुङको निसी सब-स्टेशनमा जोडिनेछ । आयोजनाका लागि बाँध क्षेत्रसम्म १६.१८ किलोमिटर तथा विद्युतगृह क्षेत्रसम्म २५.१३ किलोमिटर पहुँचमार्ग निर्माण गरिनेछ ।

    वातावरणीय सन्तुलन कायम गर्न उत्तरगंगा नदीमा वर्षभर न्यूनतम ३.५२ घनमिटर प्रतिसेकेन्ड पानी छाडिने व्यवस्था गरिएको छ । आयोजनाबाट प्रभावित समुदाय, वन क्षेत्र र जैविक विविधतिमा पर्ने प्रभाव न्यूनीकरणका लागि विभिन्न वातावरणीय व्यवस्थापन योजना पनि प्रस्ताव गरिएको छ । विद्युत विकास विभागले आयोजनाको विस्तृत विवरण सार्वजनिक गर्दै आयोजना निर्माणबाट कसैलाई प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित सुझाव वा प्रतिक्रिया दिन आह्वान गरेको छ ।

    सरकारले २०९२ सालभित्र आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । यदि निर्धारित समयमै आयोजना सम्पन्न भयो भने यो नेपालकै सबैभन्दा ठूलो जलाशययुक्त विद्युत आयोजनामध्ये एक बन्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend