काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले विद्युतीय सवारी साधन ९इभी० को मोटर क्षमताबारे पछिल्ला टिप्पणी र व्याख्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नाइमाले नेपालमा आयात भइरहेका इभीहरू अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन र प्रमाणीकरण प्रक्रियाका आधारमा आउने गरेको स्पष्ट पारेको छ।
एसोसिएशनका अनुसार एउटै मोडलका सवारी साधन विभिन्न देश, नियामकीय संरचना र बजार आवश्यकताअनुसार फरक–फरक प्राविधिक स्पेसिफिकेशनमा उत्पादन हुनु विश्व अटोमोबाइल उद्योगको सामान्य अभ्यास हो। त्यसैले वेबसाइटमा देखिएका विवरण, मोडल नाम वा बाह्य सूचनाका आधारमा मात्र मोटर क्षमताबारे निष्कर्ष निकाल्नु प्राविधिक रूपमा विश्वसनीय नहुने नाइमाको भनाइ छ।
नाइमाले इभी मोटर क्षमता परीक्षण, प्रमाणीकरण र प्राविधिक मूल्याङ्कनसम्बन्धी स्पष्ट, व्यवहारिक र एकरूप व्यवस्था आवश्यक रहेको विषय यसअघि अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँगको छलफलमा समेत उठाइसकेको जनाएको छ।
हाल नेपालमा इभी मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली र एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा नआएकाले भ्रम र फरक–फरक व्याख्या उत्पन्न भएको नाइमाको धारणा छ।
नाइमाले आधिकारिक उत्पादक कम्पनीबाट जारी प्रमाणित विवरण, अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण निकायका प्रमाणपत्र र स्थापित प्राविधिक मापदण्डका आधारमा मात्रै इभीको मूल्याङ्कन गर्नुपर्ने बताएको छ।
विद्युतीय सवारी साधन नेपालमा स्वच्छ ऊर्जा उपयोग, दिगो यातायात प्रणाली र हरित अर्थतन्त्र प्रवर्द्धनको महत्वपूर्ण माध्यम बन्दै गएको उल्लेख गर्दै नाइमाले अपुष्ट सूचना वा फरक व्याख्याले बजारमा अनावश्यक अन्योल सिर्जना गर्ने चेतावनी दिएको छ।
यसले उपभोक्ता विश्वास, लगानीको वातावरण र इभी क्षेत्रको दीर्घकालीन विकासमा असर पार्न सक्ने भन्दै नाइमाले स्पष्ट, पारदर्शी र व्यवहारिक प्राविधिक प्रणाली विकासका लागि सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

