काठमाडौं । KIST Medical College and Teaching Hospital ले क्यान्सर उपचार सेवामा अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ टोली तथा बहुविषयगत समन्वयमार्फत प्रभावकारी सेवा प्रदान गरिरहेको जनाएको छ । अस्पतालको क्यान्सर उपचार सेवा विभागको नेतृत्व विभागीय प्रमुख प्रोफेसर डा. विष्णु दत्त पौडेलले गरिरहनुभएको छ ।
अस्पतालका अनुसार अनुभवी क्यान्सर शल्य चिकित्सक, क्यान्सर रोग विशेषज्ञ, रक्तसम्बन्धी क्यान्सर विशेषज्ञ तथा अन्य विशेषज्ञहरूको सशक्त टोलीमार्फत टाउकोदेखि खुट्टासम्म हुने विभिन्न प्रकारका क्यान्सरहरूको पहिचान, शल्यक्रिया तथा उपचार सेवा उपलब्ध हुँदै आएको छ ।
किस्ट क्यान्सर केन्द्रले भारतको प्रख्यात अस्पताल Medanta – The Medicity सँग सहकार्य गर्दै टेलिमेडिसिनमार्फत दोस्रो राय (सेकेन्ड ओपिनियन) तथा टेलि–परामर्श सेवा सञ्चालन गरिरहेको जनाएको छ । अस्पतालका अनुसार यस सहकार्यले नेपालका क्यान्सर बिरामीहरूलाई अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको छ ।
यसैबीच, मेदान्ता गुरुग्रामका प्रख्यात क्यान्सर रोग विशेषज्ञ Dr. Satya Pal Kataria विशेष अतिथि वक्ताका रूपमा सहभागी हुनुभएको थियो । उहाँको उपस्थितिमा दुई महत्वपूर्ण शैक्षिक तथा चिकित्सकीय कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको अस्पतालले जनाएको छ ।
कार्यक्रममा किस्ट शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरूसँगै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाबाट आएका वरिष्ठ चिकित्सक तथा चिकित्सा विशेषज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा क्यान्सर उपचारका नवीनतम प्रविधि, जटिल बिरामीहरूको बहुविषयगत व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा गहन छलफल गरिएको बताइएको छ ।
अस्पतालले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै आधुनिक प्रविधि र विशेषज्ञ सेवामार्फत नेपालमै गुणस्तरीय क्यान्सर उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

