काठमाडौं । पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई दुई फरक कसुरमा कुल चार लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सोमबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा १५ हजार रुपैयाँ तथा लिखतसम्बन्धी कसुरमा ४ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी जयनारायण यादवले जानकारी दिए।
अदालतको आदेशपछि मेयर सिंह धरौटी रकम बुझाउने प्रक्रियामा रहेका छन्। उनीविरुद्ध जेठ ८ गते पक्राउ पुर्जी जारी भएको थियो। प्रहरीले उनलाई सोमबार बिहान पर्साको ठोरी क्षेत्रबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो।
प्रहरी अनुसन्धान अनुसार राजेशमान सिंहमाथि अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा जन्मदर्ता गराई नागरिकता, राहदानी तथा अन्य सरकारी कागजात बनाएको आरोप छ। सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नो छोरी देखाएर फर्जी जन्मदर्ता गराइएको दाबी अभियोजन पक्षको छ।
यस प्रकरणमा रिता भट्टराई र वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पनि मुद्दा दर्ता भएको छ। उनीहरूमाथि झुटा विवरण पेश गरी नागरिकता बनाउने तथा सरकारी कागजातमा किर्ते गरेको आरोप लगाइएको छ।
मुद्दामा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सरकारी तथा सार्वजनिक लिखत किर्ते सम्बन्धी कसुर आकर्षित हुने उल्लेख गरिएको छ। उक्त कानुनी व्यवस्थाअनुसार दोषी ठहर भएमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको छ।

