२०८३, भाद्र १३ गते

images
  • अटो
  • बीवाइडी आयात विवादमा साइमेक्सको स्पष्टीकरण: ‘सबै...

बीवाइडी आयात विवादमा साइमेक्सको स्पष्टीकरण: ‘सबै सवारी कानुनअनुसार भित्रिएका हुन्’

बीवाइडी आयात विवादमा साइमेक्सको स्पष्टीकरण: ‘सबै सवारी कानुनअनुसार भित्रिएका हुन्’

images
बिहिवार, जेठ २१ २०८३०५:१४
बिहिवार, जेठ २१ २०८३०५:१४
  • काठमाडौँ । बीवाइडी विद्युतीय सवारीसाधनको आयात तथा भन्सार जाँचपास प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यम र सार्वजनिक वृत्तमा उठेका प्रश्नबीच नेपालका लागि बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले तथ्यगत स्पष्टिकरण सार्वजनिक गरेको छ।

    कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमा हाल चर्चामा रहेका सबै सवारीसाधन नेपाल सरकारको प्रचलित कानुन, भन्सार नियमावली तथा निर्धारित प्रक्रियाअनुसार पूर्ण रूपमा आयात तथा जाँचपास गरिएको दाबी गरेको छ।

    साइमेक्सका अनुसार मुस्ताङको कोरला भन्सार र रसुवा भन्सारमार्फत कुल एक हजार १२१ वटा बीवाइडी विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। तीमध्ये कोरला नाकाबाट ६४९ र रसुवा नाकाबाट ४७२ वटा सवारीसाधन आयात तथा भन्सार जाँचपास गरिएको कम्पनीले जनाएको छ। थप २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा पुगे पनि हालसम्म जाँचपास प्रक्रिया पूरा नभएको कम्पनीको भनाइ छ।

    कम्पनीले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको स्पष्ट पारेको छ। साथै कर वृद्धि लागू हुनुअघि सवारीसाधन भित्र्याउन सरकारी निकायसँग समन्वय गरी अनुचित लाभ लिएको भन्ने आरोपलाई पूर्ण रूपमा निराधार, असत्य र कम्पनीको प्रतिष्ठामा आघात पुर्‍याउने प्रयासको संज्ञा दिएको छ।

    साइमेक्सले ग्राहकबाट पहिल्यै प्राप्त बुकिङ पूरा गर्न तथा नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो मागलाई सम्बोधन गर्न नियमित व्यावसायिक योजना, उत्पादन तालिका, ढुवानी उपलब्धता तथा मौज्दात व्यवस्थापनका आधारमा सवारीसाधन आयात गरिएको जनाएको छ।

    कम्पनीले आवश्यक परे आयातसम्बन्धी सम्पूर्ण अभिलेख, भन्सार घोषणा विवरण, ढुवानी कागजात, सीमा प्रवेशसम्बन्धी रेकर्ड, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिका दस्तावेज सम्बन्धित निकायलाई उपलब्ध गराउन पूर्ण रूपमा तयार रहेको जनाएको छ। वैधानिक अनुसन्धान वा छानबिनलाई आफूहरूले स्वागत गर्ने पनि कम्पनीले उल्लेख गरेको छ।

    साइमेक्सले सञ्चारमाध्यम र सरोकारवाला पक्षलाई आधिकारिक तथ्य पुष्टि नगरी निष्कर्षमा नपुग्न तथा सार्वजनिक भ्रम सिर्जना गर्ने वा वैधानिक रूपमा सञ्चालन भइरहेका व्यवसायको प्रतिष्ठामा असर पुग्ने सामग्री प्रकाशन नगर्न आग्रह गरेको छ।

    कम्पनीले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तारले वातावरण संरक्षण, इन्धन आयात न्यूनीकरण तथा दिगो यातायात प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै तथ्यमा आधारित समाचार सम्प्रेषण र जिम्मेवार सार्वजनिक बहसको आवश्यकता औँल्याएको छ।

    साइमेक्सले आफू विगतदेखि नेपालको अटोमोबाइल तथा स्वच्छ ऊर्जा रूपान्तरणको यात्रामा सक्रिय रहेको उल्लेख गर्दै कानुनको पालना, पारदर्शिता, जवाफदेहिता र उपभोक्ता सेवाप्रति प्रतिबद्ध रहेको जनाएको छ। साथै सरकारी निकायबाट भइरहेको अध्ययन तथा समीक्षा प्रक्रियाले वास्तविकता सार्वजनिक गर्ने र फैलिएका भ्रमहरूको अन्त्य हुने विश्वास व्यक्त गरेको छ।

    गाडी नआउँदै भन्सार पास प्रकरणः रसुवा भन्सार प्रमुखसहित ६ कर्मचारीमाथि छानबिन गाडी नआउँदै भन्सार पास प्रकरणः रसुवा भन्सार प्रमुखसहित ६ कर्मचारीमाथि छानबिन

    कर छल्न कागजात किर्ते गरिएको आशंका, कोरला नाकाबाट भित्रिएका ७७४ विद्युतीय सवारी नियन्त्रणमा कर छल्न कागजात किर्ते गरिएको आशंका, कोरला नाकाबाट भित्रिएका ७७४ विद्युतीय सवारी नियन्त्रणमा

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend