काठमाडौँ । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै सांसद गुरुङले सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको बताए ।
अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु ।’
छानबिन समितिसँगको त्यो ‘ठट्यौली प्रसंग बयानका क्रममा घटेको एउटा रोचक प्रसंग कोट्याउँदै गुरुङले कार्यक्रममा ठट्यौली शैलीमा भने, ‘समितिले मलाई यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो ? भनेर प्रश्न गर्यो । मैले पनि सहज रूपमा छानबिन समितिलाई नै ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न तु भनेर प्रतिप्रश्न गरिदिएँ ।’
उनले छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताए ।
पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउन
आफू निर्दोष सावित हुने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने सम्भावनाप्रति सङ्केत गर्दै गुरुङले एउटा फरक आग्रह समेत राखे । उनले भने, ‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला ।’
उनले कामलाई प्राथमिकता दिन यस्तो आग्रह गरिएको बताए ।

