२०८३, आश्विन १९ गते

images

भन्सार दर र १६ पाना गायब प्रकरण अस्वीकार गर्दै वाग्लेः ‘डकुमेन्टको कन्टेन्टमा कुनै छेडछाड छैन’

भन्सार दर र १६ पाना गायब प्रकरण अस्वीकार गर्दै वाग्लेः ‘डकुमेन्टको कन्टेन्टमा कुनै छेडछाड छैन’

बुधवार, जेठ २७ २०८३१२:५०
बुधवार, जेठ २७ २०८३१२:५०
  • images

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको तथा दस्तावेजबाट पाना गायब पारिएको भन्ने आरोपलाई भ्रामक, अतिरञ्जित र तथ्यहीन भएको बताएका छन्।

    बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको स्पष्ट पार्दै प्राविधिक विषयलाई अनावश्यक रूपमा राजनीतिक विवादको रूप दिन खोजिएको आरोप लगाए।

    सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले गत वर्षको बजेटमार्फत सच्याइएका केही व्यवस्थालाई यस वर्ष थप स्पष्ट बनाइएको मात्र दाबी गरे। उनका अनुसार रगत तथा भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दरमा गरिएको सामान्य संशोधन बाहेक अन्य कुनै महत्वपूर्ण परिवर्तन गरिएको छैन।

    “गत वर्ष सच्याइएका केही दरलाई यसपटक स्पष्ट पारिएको मात्र हो। विशेषगरी रगत र भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दरमा गरिएको परिवर्तन विशुद्ध मानवीय र प्राविधिक विषय हो,” मन्त्री वाग्लेले भने।

    उनले आर्थिक विधेयक संसदमा पेश भइसकेपछि त्यसमा एउटा ‘थोप्लो’ समेत परिवर्तन नगरिएको दाबी गरे। सञ्चारमाध्यममा आएको समाचारका कारण आमजनता मात्र होइन, सांसदहरू समेत भ्रममा परेको उनको भनाइ थियो।

    “त्रुटिसहित यहाँहरूको हातमा परेपछि पनि हामीले एउटा थोप्लो चलाएका छैनौँ। सत्य केही समय ढाक्न सकिएला, तर लुकाउन सकिँदैन,” उनले भने।

    १६ पाना गायब भएको भन्ने आरोपबारे स्पष्ट पार्दै मन्त्री वाग्लेले यो विषय माइक्रोसफ्ट वर्डको प्राविधिक संरचनासँग सम्बन्धित रहेको बताए। ४५७ पानाको दस्तावेजमा कोलमको (COLUMN) आकार सामान्य रूपमा परिवर्तन हुँदा पृष्ठ संख्या बढ्न वा घट्न सक्ने उनको तर्क थियो।

    “४५७ पानाको डकुमेन्टमा १ मिलिमिटर मात्रै कोलम तन्काइदियो भने पृष्ठ संख्या ५०० पुग्न सक्छ, घटाउन सकिन्छ। तर कन्टेन्टमा एउटा कमा, पूर्णविराम वा थोप्लो पनि परिवर्तन भएको छैन,” उनले स्पष्ट पारे।

    अर्थमन्त्री वाग्लेले संसदमा पेश भइसकेको विधेयकमा कुनै पनि अनधिकृत संशोधन नगरिएको दोहोर्‍याउँदै राष्ट्रहित र मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर गरिएका कामलाई गलत रूपमा व्याख्या नगर्न आग्रह गरे।

    विवादलाई उनले “चियाको कपमा तुफान ल्याउने प्रयास” को संज्ञा दिँदै कुनै पनि शंका वा जिज्ञासाको जवाफ दिन आफू सदैव तयार रहेको बताए। “यो विषयलाई अनावश्यक रूपमा ठूलो बनाइएको छ। तथ्य र वास्तविकता बाहिर आउँदा सबै भ्रम स्वतः हट्नेछन्,” मन्त्री वाग्लेले भने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend