काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान० को आगामी नेतृत्वका लागि वर्तमान महासचिव बलराम खतिवडाले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै २२ सदस्यीय प्यानल सार्वजनिक गरेका छन्।
इप्पानको २४औँ वार्षिक साधारणसभा तथा निर्वाचन जेठ २९ गतेका लागि तय भएको छ। वर्तमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेकाले खतिवडाले वरिष्ठ उपाध्यक्ष पदलाई लक्षित गर्दै आफ्नो टिम घोषणा गरेका हुन्।
खतिवडा एबीपी, एटलास तथा बराह मल्टिपावर लिमिटेडका प्रवर्द्धकसमेत हुन्। उनले ऊर्जा क्षेत्रको दिगो विकास, निजी क्षेत्रको लगानी संरक्षण तथा जलविद्युत् आयोजनाहरूको निर्माण र वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका छन्।
उनको प्यानलमा वर्तमान कार्यसमितिका उपाध्यक्ष भरतबहादुर खत्री पुनः उपाध्यक्ष पदका उम्मेदवार बनेका छन्। त्यसैगरी भरतप्रसाद नेपाल, कुमार खरेल र दीपक पौडेल क्रमशः दोस्रो, तेस्रो र चौथो उपाध्यक्ष पदका उम्मेदवार रहेका छन्। महिला उपाध्यक्षमा अपि ग्रुपकी सिर्जना खड्का उम्मेदवार बनेकी छन्।
महासचिव पदका लागि वर्तमान उपमहासचिव प्रकाशचन्द्र दुलाल उम्मेदवार बनेका छन्। दुलाल विभिन्न ऊर्जा कम्पनीमार्फत जलविद्युत् क्षेत्रमा सक्रिय व्यवसायीका रूपमा परिचित छन्।
पाँच सचिव पदका लागि कृष्णप्रसाद घिमिरे, ताराबहादुर इस्बो लिम्बु, वीरेन्द्रबहादुर मल्ल, संगीता धमला र इशा श्रेष्ठलाई उम्मेदवार बनाइएको छ। कोषाध्यक्षमा वर्तमान कार्यसमिति सदस्य मिथुन पौडेललाई उम्मेदवार बनाइएको छ।
त्यसैगरी सदस्य पदका लागि सोमनाथ कँडेल, डा. भुषण गुरागाईं, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, नारायण कँडेल, सुकुन्द ओझा, ज्योति गैर, इन्दिरा पन्त र प्रदीप ओली उम्मेदवार बनेका छन्।
इप्पानमा नेतृत्व चयनलाई लिएर चुनावी माहोल तातिरहेको बेला यसअघि उत्तम भ्लोन लामाको नेतृत्वमा अर्को प्यानल सार्वजनिक भइसकेको छ। यससँगै इप्पानको आगामी निर्वाचन प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ।
यद्यपि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्थालाई लिएर इप्पानभित्र विधान संशोधनको बहस जारी रहे पनि आगामी निर्वाचन भने हालकै विधानअनुसार हुने भएको छ।

