काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि आइतबार चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन्। उनी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीन भ्रमणमा निस्किएका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक तथा विकास साझेदारी विस्तार गर्ने र आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ।
भ्रमणका क्रममा मन्त्री खनालले चीनका अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नेछन्। साथै नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा समेत उनी सहभागी हुने कार्यक्रम छ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले भ्रमणका क्रममा चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग छलफल गर्दै नेपालमा लगानीका सम्भावना र अवसरबारे जानकारी गराउनेछन्। यसलाई नेपालमा विदेशी लगानी भित्र्याउने प्रयासका रूपमा हेरिएको छ।
परराष्ट्रमन्त्री खनालको सम्मानमा बेइजिङस्थित नेपाली दूतावासले स्वागत समारोह आयोजना गर्नेछ। उक्त समारोहमा उनले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने छन्। उनको भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पुर्याउनुका साथै आर्थिक सहकार्य र लगानी प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

