२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • रास्वपाले सक्यो ६०९ पालिका र ६४...

रास्वपाले सक्यो ६०९ पालिका र ६४ जिल्लाको अधिवेशन, महाधिवेशन तयारी अन्तिम चरणमा

रास्वपाले सक्यो ६०९ पालिका र ६४ जिल्लाको अधिवेशन, महाधिवेशन तयारी अन्तिम चरणमा

मंगलवार, आषाढ २ २०८३११:२९
मंगलवार, आषाढ २ २०८३११:२९
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर संगठन निर्माण तथा अधिवेशन अभियानलाई तीव्र बनाउँदै हालसम्म ४ हजार ३६३ वडा, ६०९ पालिका र ६४ जिल्लाको अधिवेशन सम्पन्न गरेको जनाएको छ।

    रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले सार्वजनिक गरेको विवरणअनुसार पार्टीले स्थानीय तहदेखि जिल्ला तहसम्म संगठन सुदृढीकरण अभियानलाई व्यापक रूपमा अघि बढाएको छ।

    पार्टीका अनुसार कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा जिल्ला अधिवेशन हुन बाँकी रहेको छ।

    यस्तै, सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहट जिल्लामा अधिवेशन प्रक्रिया सुरु भए पनि विभिन्न कारणले स्थगित भएको र ती जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको जनाइएको छ।

    रास्वपाले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको जनाएको छ। मधेस प्रदेशको अधिवेशन हाल स्थगित अवस्थामा रहेको छ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रदेश अधिवेशन जारी रहेको पार्टीले जनाएको छ।

    पार्टीले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने तयारीलाई तीव्रता दिएको छ। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, संगठनात्मक संरचनाको संस्थागत विकास तथा आगामी राजनीतिक कार्यदिशा तय गरिने अपेक्षा गरिएको छ।

    रास्वपाले देशव्यापी अधिवेशन अभियानलाई संगठन विस्तार, नेतृत्व विकास र कार्यकर्ता परिचालनको महत्वपूर्ण आधारका रूपमा लिँदै महाधिवेशनलाई पार्टीको राजनीतिक यात्राको नयाँ अध्यायका रूपमा प्रस्तुत गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend