काठमाडौँ । एम.ए.डब्लु. अर्थमुभर्स प्रालि (जेसीबी डिभिजन) र एभरेष्ट बैंक लिमिटेडबीच जेसीबी तथा अन्य निर्माण उपकरण खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
असार ३ गते सम्पन्न सम्झौतामा एम.ए.डब्लु. अर्थमुभर्सका तर्फबाट सञ्जय देव यादव र एभरेष्ट बैंकका तर्फबाट विनय खनालले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार जेसीबी लगायतका निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले एभरेष्ट बैंकका देशभर रहेका शाखामार्फत अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन्। यस व्यवस्थाले निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीलाई उपकरण खरिदका लागि आवश्यक लगानी जुटाउन सहज हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, ऋण स्वीकृति प्रक्रियालाई थप सरल र छरितो बनाउन आवश्यक कागजात पूरा भएको अवस्थामा सात कार्यदिनभित्र डेलिभरी अर्डर (डीओ) जारी गरिने व्यवस्था गरिएको छ। यसबाट ग्राहकहरूले समयमै उपकरण प्राप्त गरी आफ्नो व्यवसाय सञ्चालनलाई प्रभावकारी बनाउन सक्ने विश्वास गरिएको छ।
दुवै संस्थाबीचको यो रणनीतिक सहकार्यले व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै निर्माण तथा पूर्वाधार क्षेत्रमा कार्यरत व्यवसायीहरूलाई वित्तीय पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
एम.ए.डब्लु. अर्थमुभर्स र एभरेष्ट बैंकले ग्राहकको सुविधा, सन्तुष्टि तथा व्यवसायिक वृद्धिलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप नवीन र ग्राहकमुखी सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा यो सहकार्यले सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ।

