काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित विनियोजन विधेयक, २०८३ माथि मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा विनियोजन विधेयक, २०८३ लाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।
आजको बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालयसँग सम्बन्धित शीर्षकहरूमाथि छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।
त्यसैगरी रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकहरूमाथि सांसदहरूले उठाएका विषयमा समेत सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले दर्ता गराएका खर्च कटौतीका प्रस्तावहरू पनि निर्णयार्थ प्रस्तुत गरिनेछन्। सभामुख डीपी अर्यालले सांसदहरू मोहमद इस्तियाक राई, कृपाराम राना, युवराज दुलाल, पार्वती विक, एशुदा कुमारी बराल, जोगकुमार बरबरिया यादव, गुरुप्रसाद बराल, सन्तोष सुब्बा, नीता घतानी र परशुराम तामाङलगायतले पेश गरेका प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै सांसदहरू अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, बलावती शर्मा, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, ऐनबहादुर महर, पुष्पराज कँडेल र पद्माकुमारी अर्यालले दर्ता गराएका खर्च कटौती प्रस्तावहरू पनि बैठकमा निर्णयका लागि प्रस्तुत गरिनेछन्।
सरकारको वार्षिक बजेट कार्यान्वयनको आधार मानिने विनियोजन विधेयक पारित गर्ने प्रक्रियाको अन्तिम चरणमा पुगेकाले आजको प्रतिनिधिसभा बैठकलाई निर्णायक मानिएको छ।

