काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणसँग उपभोक्तासँग प्रत्यक्ष सम्बन्धित मिटर, ट्रान्सफर्मरलगायतका उपकरणहरूको मौज्दात र आपूर्ति व्यवस्थापनबारे जानकारी लिएका छन् ।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकका क्रममा मन्त्री श्रेष्ठले प्राधिकरण व्यवस्थापनसँग उक्त विषयमा छलफल गरेका हुन् । पछिल्लो समय उपभोक्ताबाट मिटर तथा ट्रान्सफर्मरजस्ता आवश्यक उपकरण सहज रूपमा उपलब्ध नभएको गुनासो बढ्न थालेपaछि मन्त्री श्रेष्ठले चासो व्यक्त गरेको बताइएको छ।
बैठकमा प्राधिकरण व्यवस्थापनले खरिद प्रक्रियामा केही चुनौती देखिए पनि हाल आवश्यक उपकरणहरूको पर्याप्त मौज्दात रहेको र थप आपूर्ति हुने क्रममा रहेको जानकारी गराएको छ। साथै, अब उपभोक्ताले मिटर तथा ट्रान्सफर्मर अभावको समस्या भोग्न नपर्ने दाबी पनि गरेको छ।
छलफलका क्रममा मन्त्री श्रेष्ठले देशभर सञ्चालनमा रहेका विद्युत् प्राधिकरणका परियोजनाबारे सर्वसाधारणलाई स्पष्ट जानकारी दिन परियोजना स्थलमा सूचनापाटी राख्न सुझाव दिए ।
उनले सूचनापाटीमा परियोजनाको कुल लागत, निर्माण सम्पन्न हुने अनुमानित समय, निर्माण कम्पनीको नाम, परियोजना प्रमुख तथा सूचना अधिकारीको सम्पर्क विवरणसमेत उल्लेख गर्नुपर्ने बताए ।
मन्त्री श्रेष्ठले यस्ता सूचनापाटीले परियोजनाको पारदर्शिता अभिवृद्धि गर्नुका साथै नागरिकलाई आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने विश्वास व्यक्त गरे ।
बैठकमा ऊर्जा क्षेत्रअन्तर्गत सञ्चालनमा रहेका विभिन्न परियोजनाको प्रगति, चुनौती तथा आगामी कार्ययोजनाबारे पनि छलफल भएको थियो।

