काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बिहीबार काठमाडौँमा सम्पन्न भएको छ। बैठकले संस्थापक तथा पूर्व नेतृत्वको योगदानको स्मरण गर्दै ऊर्जा क्षेत्रका मुद्दालाई थप सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
ऊर्जा उत्पादन क्षेत्रमा सक्रिय उद्यमी तथा व्यवसायीहरूको छाता संगठन इप्पानको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट गत जेठ २९ गते मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। नवगठित कार्यसमितिको शपथ ग्रहण, प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रम जेठ ३१ गते सम्पन्न भइसकेको छ।
नयाँ कार्यसमितिको पहिलो बैठकले इप्पानका संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकर शम्शेर जंगबहादुर राणासहित संस्थापकहरूको योगदानको स्मरण गर्दै २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन सफल बनाउन सहयोग गर्ने निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्य, साधारणसभामा सहभागी सदस्यहरू, निर्वाचन समितिका पदाधिकारी, इप्पान सचिवालयका कर्मचारी, सञ्चारकर्मी तथा सुरक्षाकर्मीप्रति धन्यवाद ज्ञापन गरेको छ।
बैठकले इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीलाई प्रमुख सल्लाहकार तथा पूर्व उपाध्यक्ष रामप्रसाद आचार्यलाई एसोसिएट सदस्यका रूपमा मनोनयन गर्ने निर्णय गरेको जनाएको छ।
बैठकमा अध्यक्ष डाँगीले ऊर्जा उद्यमीहरूलाई एकताबद्ध बनाउँदै ऊर्जा क्षेत्रका साझा मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाइने बताए। उनले विभिन्न विषयगत समिति तथा विज्ञ–विशेषज्ञहरूको समूह गठन गरी ऊर्जा क्षेत्रका चुनौती र अवसरहरूमा केन्द्रित भएर काम गरिने जानकारी दिए।
उनले नवगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू ऊर्जा क्षेत्रको विकास, लगानी प्रवर्द्धन र उद्यमीका समस्याको समाधानका लागि सक्रिय रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।
विसं २०५७ सालमा स्थापना भएको इप्पानमा हाल करिब ७ सय ऊर्जा उत्पादक कम्पनी सदस्य रहेका छन्। ऊर्जा उद्यमीका समस्या पहिचान गरी समाधानका लागि नीति निर्माता, प्रशासक तथा नियामक निकायसँग समन्वय र पहल गर्नु संस्थाको मुख्य उद्देश्य रहेको छ।

