काठमाडौँ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकलाई यात्रा तथा मनोरञ्जन सेवामा थप लाभ प्रदान गर्ने उद्देश्यले ट्राभल प्लेटफर्म ट्रिप टर्बोसँग साझेदारी गरेको छ। उक्त सहकार्यसँगै एनसेल ग्राहकहरूले बस टिकट, आन्तरिक हवाई यात्रा तथा विभिन्न साहसिक गतिविधिमा आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन्।
एनसेल र ट्रिप टर्बोबीच भएको साझेदारीअनुसार ९९ वा सोभन्दा बढी मूल्यका प्याक खरिद गर्ने ग्राहकले एनसेल एपमार्फत विभिन्न यात्रा तथा मनोरञ्जन सेवामा विशेष छुटको सुविधा लिन सक्नेछन्। ग्राहकहरूले साहसिक तथा मनोरञ्जनात्मक गतिविधिमा अधिकतम ८ हजारसम्म छुट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
यस्तै, पहिलो पटक आन्तरिक हवाई टिकट बुकिङ गर्दा २०० र त्यसपछिका प्रत्येक उडानमा १४० छुट पाइनेछ। बस टिकट बुकिङमा भने प्रति टिकट १११ छुट उपलब्ध हुनेछ।
यी सुविधाहरू एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ अन्तर्गत रहेको ट्रिप टर्बो सेक्सनमार्फत प्राप्त गर्न सकिनेछ। उक्त डिजिटल प्लेटफर्मले ग्राहकलाई यात्रा योजना बनाउन, टिकट बुकिङ गर्न तथा विभिन्न साहसिक गतिविधिमा सहभागी हुन सहज पहुँच उपलब्ध गराउने कम्पनीको भनाइ छ।
साझेदारीबारे प्रतिक्रिया दिँदै एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले कम्पनी केवल कनेक्टिभिटी सेवा प्रदायकमा सीमित नभई ग्राहकको जीवनशैलीसँग जोडिएका थप मूल्य अभिवृद्धि सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहेको बताए।
“हामी यात्रा र लाइफस्टाइलसँग सम्बन्धित विविध सुविधाहरू ग्राहकसम्म पुर्याउन चाहन्छौं। ट्रिप टर्बोसँगको सहकार्यले ग्राहकलाई थप बचत, सुविधा र सहज अनुभव प्रदान गर्नेछ,” उनले भने।
एनसेलले यो सहकार्यलाई आफ्नो डिजिटल लाइफस्टाइल इकोसिस्टम विस्तार गर्ने रणनीतिक कदमका रूपमा लिएको जनाएको छ। कम्पनीले विभिन्न विश्वसनीय साझेदारमार्फत ग्राहकलाई परम्परागत दूरसञ्चार सेवाभन्दा बाहिरका अतिरिक्त लाभ उपलब्ध गराउँदै आएको छ।
ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट, बस टिकट, होटल बुकिङ, होलिडे प्याकेज तथा ग्राहकको आवश्यकता अनुसार तयार गरिएका यात्रा सेवाहरू उपलब्ध गराउँदै आएको छ। नयाँ सहकार्यले डिजिटल माध्यमबाट यात्रा तथा मनोरञ्जन सेवामा पहुँच सहज बनाउँदै ग्राहकलाई थप विकल्प र बचतको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

