काठमाडौँ। दम तथा श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीले प्रयोग गर्ने ‘सेरोफ्लो रोटाक्याप’ (Seroflo Rotacaps) औषधिको नक्कली संस्करण नेपाली बजारमा बिक्री–वितरण भइरहेको फेला परेपछि औषधि व्यवस्था विभागले अत्यन्त जरुरी सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार भारतको सिप्ला लिमिटेड, कुम्रेक–राङपो, सिक्किमद्वारा उत्पादित ‘सेरोफ्लो रोटाक्याप्स’ (Salmeterol and Fluticasone Propionate Inhalation Powder) को नक्कली ब्याच बजारमा देखिएको पुष्टि भएको हो। विभागले उक्त नक्कली औषधिको प्रयोगले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने चेतावनी दिएको छ।
विभागले चिकित्सक, फर्मासिस्ट, अस्पताल, औषधि व्यवसायी तथा सर्वसाधारणलाई औषधि प्रयोग वा बिक्री–वितरण गर्नुअघि लेबुल, ब्याच नम्बर, उत्पादक कम्पनीको नाम तथा चेतावनी विवरण सावधानीपूर्वक जाँच गर्न निर्देशन दिएको छ।
सूचनाअनुसार नक्कली औषधिमा ‘निल्न नहुने’ सम्बन्धी चेतावनीको छपाइमा भिन्नता देखिएको छ भने विभिन्न शब्दहरूको हिज्जे त्रुटिपूर्ण रहेको, उत्पादक कम्पनीको नाम गलत उल्लेख गरिएको तथा ठेगाना, पिनकोड र चेतावनी खण्डका विवरणसमेत सक्कली उत्पादनसँग नमिल्ने पाइएको छ।
विभागले नक्कली फेला परेको औषधिको उत्पादन मिति अप्रिल २०२५ र उपभोग्य मिति मार्च २०२७ रहेको जनाएको छ। उक्त प्याकेटमा ३० क्याप्सुलको मूल्य करसहित ५७३ रुपैयाँ ८५ पैसा उल्लेख गरिएको छ।
विभागले बिरामीहरूलाई आफूले प्रयोग गरिरहेको औषधि शंकास्पद लागेमा तत्काल प्रयोग बन्द गर्न तथा खरिद गरेको औषधि पसल वा स्वास्थ्य संस्थालाई जानकारी गराउन आग्रह गरेको छ। साथै औषधि पसल तथा फर्मासिस्टहरूलाई उक्त औषधिको बिक्री–वितरण तत्काल रोक्न, मौज्दात अलग राख्न र सम्बन्धित थोक विक्रेतामार्फत फिर्ता पठाउन निर्देशन दिइएको छ।
त्यस्तै, थोक बिक्रेताहरूलाई बजारमा आपूर्ति भइसकेको परिमाण फिर्ता मगाई पुनः बिक्री हुन नदिने व्यवस्था मिलाउन तथा त्यससम्बन्धी विवरण विभागलाई उपलब्ध गराउन भनिएको छ।
विभागले सबै सरोकारवालालाई औषधि खरिद गर्दा आधिकारिक विक्रेतामार्फत मात्रै खरिद गर्न तथा कुनै पनि शंकास्पद औषधिबारे तत्काल जानकारी गराउन आग्रह गरेको छ। विभागले नक्कली औषधिको कारोबारमा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।

