काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एउटै मञ्चमा देखिने भएका छन् ।
मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको राष्ट्रिय गोष्ठीमा ओली र प्रचण्डसँगै अन्य कम्युनिस्ट तथा राजनीतिक दलका नेताहरू सहभागी हुन लागेका हुन् ।
‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक गोष्ठीमा ओली–प्रचण्डका साथै माधवकुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ ।

