काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा राष्ट्रपतिबाट प्रमाणित विधेयकसम्बन्धी पत्र पढेर सुनाइनेछ भने महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ पेश गरिने कार्यसूची छ।
बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक प्रस्तुत गर्ने प्रस्तावमाथि छलफल हुनेछ।
त्यस्तै आर्थिक विधेयक, २०८३ माथि संशोधनसहित छलफल गरी निर्णयार्थ पेश गरिनेछ। राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पनि दफावार छलफलपछि पारितका लागि प्रस्तुत गरिने कार्यसूची रहेको छ।
बैठकमा प्रतिनिधिसभाका पूर्वसदस्य राजेन्द्र खरेलप्रति श्रद्धाञ्जलिस्वरूप शोक प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

