काठमाडौं । सवारी साधनमा प्रयोग हुँदै आएको कालो सिसा हटाउने विषयमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच विस्तृत छलफल भएको छ।
सोमबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेसँग भेट गरी कालो सिसा हटाउने अभियानका विषयमा छलफल गरेको हो।
छलफलका क्रममा एसएसपी काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासअनुसार अनुमति नलिई प्रयोग गरिएका कालो सिसा भएका सवारी साधन विभिन्न आपराधिक गतिविधिमा प्रयोग भएको देखिएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कालो सिसा हटाउने अभियान अघि बढाइएको जानकारी दिए।
उनले सवारी साधनको अगाडिको सिसामा कालो फिल्म वा कुनै पनि प्रकारका स्टिकर टाँस्न नपाइने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै सवारी आयातकर्ताले पनि खरिदकर्तालाई यसबारे स्पष्ट जानकारी गराउनुपर्ने बताए।
त्यस्तै, विशेष कारणले कालो सिसा प्रयोग गर्नुपर्ने भए सरकारबाट अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था रहेको भन्दै उत्पादक कम्पनीबाट नै कालो सिसा जडान भएका सवारी साधन आयात नगर्न आयातकर्तालाई आग्रह गरे।
नाडाका अध्यक्ष उप्रेतीले हाल अधिकांश सवारी साधनमा प्रयोग गरिएको कालो फिल्म (स्टिकर) हटाउन प्राविधिक रूपमा कुनै जटिलता नरहेको उल्लेख गर्दै पहिलो चरणमा फिल्म हटाउने कार्यलाई प्राथमिकता दिन सुझाव दिए।
त्यसैगरी नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले उत्पादक कम्पनीबाट नै कालो सिसा जडान भएर आएका सवारी साधनको संख्या धेरै नरहेको भन्दै त्यस्ता सवारीको तथ्यांक यकिन गरी आवश्यक प्रक्रिया अघि बढाउन सकिने धारणा राखे।
कालो सिसा हटाउने विषयमा थप समन्वयका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नाडालाई लिखित रूपमा छलफलका लागि अनुरोध गरेको थियो। छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योतिसहित अन्य पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो।

