काठमाडौँ । काभ्रेपलाञ्चोकमा बर्डफ्लु सङ्क्रमण फैलिएपछि हालसम्म ४० हजारभन्दा बढी हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको छ।
जिल्ला पशु सेवा कार्यालय, धुलिखेलका अनुसार केही सातायता विभिन्न व्यावसायिक पोल्ट्री फार्ममा बर्डफ्लु देखिएपछि सङ्क्रमण नियन्त्रणका लागि ४० हजार ७२९ वटा हाँस तथा कुखुरा नष्ट गरिएको हो।
कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका–६ र १३ तथा पनौती नगरपालिका–७, ८ र ९ का केही पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि नियन्त्रणात्मक कदमस्वरूप प्रभावित फार्मका हाँस–कुखुरा नष्ट गरिएको हो।
उनले मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण कागलगायत जङ्गली चरामार्फत सङ्क्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष रहेको बताए । त्यसैले परीक्षण, व्यवस्थापन र कुखुरा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको उनको भनाइ छ।
डा. ठाकुरले प्रयोगशाला परीक्षणको नतिजा ढिलो आउँदा सम्बन्धित निकायले समयमै आवश्यक कदम चाल्न नसक्दा सङ्क्रमण फैलिन सहयोग पुगेको उल्लेख गरे । उनले व्यावसायिक पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ लागू गर्न, खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, आवश्यक परे सुरक्षात्मक सामग्री प्रयोग गर्न, खोर तथा उपकरण नियमित रूपमा सफा राख्न र कुखुरा ओसारपसार गर्दा स्वास्थ्य तथा सरसफाइका मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गरे ।
यसैबीच, जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिनाको तथा अवैध रूपमा हुने कुखुरा ओसारपसारमाथि निगरानी र नियन्त्रण कडा पारिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ।
यसअघि गत चैतमै काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्लुको सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउने निर्णय गरिएको थियो। देशका विभिन्न क्षेत्रमा बर्डफ्लु देखिन थालेपछि ती जिल्लामा पनि जोखिम बढ्न सक्ने आकलन गर्दै सुरक्षात्मक उपायहरू कडा बनाइएको जनाइएको छ।

