काठमाडौँ । राष्ट्रिय बक्सिङ महासंघले आयोजना गरेको राष्ट्रिय बक्सिङ प्रतियोगिताप्रति खेलाडीहरुले असन्तुष्टि व्यक्ति गरेका छन् । सामान्यतया बक्सिङका खेलाडीहरुले एउटा खेल सकिएको १ महिनापछि मात्रै अर्काे खेल खेल्छन् । सिधै खेडालीको टाउँकोमा प्रवाह गरेर खेलिने हुँदा अन्य खेलको तुलनामा बक्सिङलाई अलि संवेधनशील मानिन्छ ।
संवेदनशील खेल बक्सिङ भएतापनि महासंघले प्रदेश स्तरीय खेल प्रतियोगिता सकिएको ५ दिनमै अर्काे प्रतियोगिता आयोजना गरेपछि खेलाडीसँगै कोच (प्रशिक्षक) समेत आक्रोषित बनेका छन् । ‘लामो समयदेखि नभएको राष्ट्रिय प्रतियोगितामा बच्चाहरुलाई नपठाउन पनि भएन्, प्रदेश स्तरीय खेल सकिएको ५ दिनमै राष्ट्रिय प्रतियोगिता जोखिम मोलेर नै पढाउन बाध्य भईयो’, बक्सिङका एक प्रशिक्षकले भने ।
उनले महासंघको लापरवाहीका कारण नै १ महिनाको रेष्ट बस्नुपर्ने खेलाडीहरु ५ दिनमा पुनः मैदानमा उत्रनु परेको बताए । उनका अनुसार असार ६ गते बागमती प्रदेश स्तरीय खेल सकिएको थियो । अन्य प्रदेशहरुमा समयमै सकिदा बागमतीमा अन्तिम समयमै भएको उनले बताए । असार ६ गते बागमती प्रदेशको सकिएपछि असार ११ गतेदेखि केन्द्रीय प्रतियोगिता सुरु भएको थियो ।
महासंघको आन्तरिक किचलोका कारण अहिले भएको नेशनल प्रतियोगिता १४ वर्षपछि मात्रै भएको हो । राष्ट्रिय खेलकुद परिषद्ले जसरी पनी प्रतियोगिता आयोजना गर्न निर्देशन दिएपछि मात्रै महासंघले सो प्रतियोगिता आयोजना गरेको थियो । राखेपले बक्सिङ महासंघको कार्यसमितिलाई नै मान्यता नदिने दबाब दिएपछि महासंघले बिना तयारी हतार हतारमा प्रतियोगिता आयोजना गरेको ती प्रशिक्षकले बताए ।
महासंघका अध्यक्ष राम अवाले भने सबैको सल्लाहमै खेल आयोजना गरिएको बताउँछन् । उनले बागमती प्रदेशको खेलको समय सरेका कारण असारको ६ गते मात्रै भएको बताए । ‘हामीले बागमतीको खेल अगाडी नै गर्ने तयारी गरेका थियौँ । तर विविध कारणले तोकिएको मितिमा खेल नहुँदा सर्न गयो । राष्ट्रिय प्रतियोगिता सार्ने कुरा भएत, त्यही कारण एकै पटक खेल हुन गएको हो’, उनले भने । उनले गेम खेल्दा खेलाडी सामान्य घाइते हुनेभन्दै यसलाई अन्यथा मान्न नहुने बताए ।
१० वर्षदेखि दाई अध्यक्ष भाइ उपाध्यक्ष
राम अवाले २०७३ जेठ २२ गते महासंघको अध्यक्षमा निर्वाचित भएका थिए । उनी अध्यक्ष र उनका सहोदर भाइ श्याम अवाले उपाध्यक्ष छन् । २०७३ सालदेखि उनी महासंघको अध्यक्ष हुँदै आएका छन् ।
अवाले दाजुभाइले महासंघ कब्जा गरेर समयमै प्रतियोगिता आयोजना गर्न नसकेको आरोप प्रत्यारोप लाग्दै आएको छ । केही समयअघि महासंघका महासचिवले नै अध्यक्षमाथि आर्थिक अपचलनको आरोप समेत लगाएका थिए ।
महासचिव र अध्यक्षबीच आरोप प्रत्यारोप चल्ला महासंघले समयमै गर्नुपर्ने खेलहरु आयोजना गर्न नसकेको तथा संस्थाको साधारणसभा समेत समयनै हुन नसकेको पाइएको छ ।
सामान्यतया एकै संस्थामा एकै घरका दाजुभाई नेतृत्वमा हुँदैनन् । तर बक्सिङ महासंघको अध्यक्ष र उपाध्यक्ष सहोदर दाजु भाइ हो । उनीहरुले विगत १० वर्षदेखि संस्था कब्जा गरेर बसेका छन् । राष्ट्रियस्तरीय खेलभन्दा पनि उनीहरुको फोकस अन्तर्राष्ट्रिय आयोजनातर्फ रहेको छ । खेलाडीसँग पैसा उठाएर लैजाने र उताबाट आएको पैसा काज तथा बैठकभत्ता भन्दै लिने गरेको समेत खेलाडीले आरोप लगाउदैँ आएका छन् ।

