काठमाडौं । फोटोन मोटर्स नेपालले पश्चिम नेपालको बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाउने उद्देश्यसहित बुटवलमा नयाँ 3S (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) शोरुम सञ्चालनमा ल्याएको छ।
कम्पनीले असार १५ गते रुपन्देहीको मणिग्रामस्थित नयाँ शोरुमको औपचारिक उद्घाटन गरेको जनाएको छ। नयाँ शोरुममार्फत रुपन्देही, पाल्पा, नवलपरासी तथा आसपासका जिल्लाका ग्राहकलाई बिक्री, मर्मत सेवा र जेन्युइन स्पेयर पार्ट्स एउटै स्थानबाट उपलब्ध गराइने कम्पनीको भनाइ छ।
शोरुमको उद्घाटन एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बराल तथा फोटोन नेपालका कन्ट्री म्यानेजर साइरसले संयुक्त रूपमा रिबन काटेर गरेका थिए।
कम्पनीका अनुसार पूर्ण 3S सुविधासहित सञ्चालनमा आएको यस शोरुमले ग्राहकलाई सवारी खरिददेखि नियमित मर्मत, प्राविधिक सेवा र आवश्यक स्पेयर पार्ट्स सहज रूपमा उपलब्ध गराउनेछ। यसबाट ग्राहकले सेवा लिन अन्य शहर पुग्नुपर्ने बाध्यता पनि कम हुने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले बुटवल शोरुम कम्पनीको व्यापार विस्तार मात्र नभई नेपालभरका समुदायमा गरिएको दीर्घकालीन लगानीको प्रतीक भएको बताए। उनले प्रत्येक सेवा केन्द्रमा गुणस्तरीय सेवा र ग्राहकको विश्वासलाई प्राथमिकतामा राख्दै कम्पनी अघि बढिरहेको उल्लेख गरे।
कम्पनीले बुटवल शोरुम सञ्चालनसँगै देशभर आफ्ना ग्राहकसम्म पुग्ने, उनीहरूको आवश्यकता बुझ्ने तथा सेवा सञ्जाललाई थप विस्तार गर्दै विश्वसनीय आफ्टर सेल्स सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ।
एमएडब्लु वृद्धि कमर्सियल फोटोन भेहिकल्सको नेपालका लागि आधिकारिक वितरक हो। कम्पनीले देशभर विस्तार भइरहेको शोरुम तथा सेवा केन्द्रमार्फत व्यावसायिक सवारीसाधन र अन्तर्राष्ट्रिय स्तरको आफ्टर सेल्स सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

