काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सम्बन्धित मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ।
मंगलबार न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको हो। वरिष्ठ अधिवक्ता ईश्वर भट्टराईका अनुसार उक्त मुद्दामा सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेका छन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी सोही मुद्दामा विष्णुप्रसाद पौडेलविरुद्ध पनि पूरक अभियोग दायर गर्ने गरी अनुसन्धान भइरहेको भन्दै सर्वोच्चले मूल मिसिल माग गरेको हो।
सुनुवाइका क्रममा पौडेलका कानुन व्यवसायीहरूले मूल मुद्दामा उनीविरुद्ध कुनै कसुर नदेखिने दाबी गरेका थिए। त्यसपछि सर्वोच्चले सम्बन्धित मिसिल झिकाउन आदेश दिँदै आगामी बिहीबारका लागि अर्को पेसी तोकेको छ।
पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेलले असार १० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उनले पौडेललाई तत्काल थुनामुक्त गर्न आदेश माग गरेकी छन्।
यसअघि असार ११ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै रिट निवेदकको मागअनुसार आदेश जारी गर्नुपर्ने वा नपर्ने कारण पेश गर्न निर्देशन दिएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विष्णुप्रसाद पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान जारी छ।
विशेष अदालत काठमाडौंले सोमबार पौडेललाई असार १७ गतेसम्म थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। हाल उनी न्यायिक हिरासतमा रहेका छन्।

