काठमाडौँ ।नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले प्रदान गर्ने बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड अन्तर्गत नबिल बैंकले निजी क्षेत्रका बैंकतर्फ लगातार तेस्रो पटक गोल्ड अवार्ड जितेको हो।
यससँगै बैंकले बीपीए अवार्डको इतिहासमै पहिलो पटक समावेश गरिएका ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ विधामा पनि सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ। यसरी नबिल बैंकले एकैपटक तीनवटा प्रतिष्ठित सम्मान हात पारेको हो।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगरले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दीप बाबु पौडेललाई अवार्ड हस्तान्तरण गर्नुभयो।
आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनको मूल्याङ्कनका आधारमा अवार्ड प्रदान गरेको जनाएको छ। छनोट प्रक्रियामा वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन तथा दिगोपनालगायतका मापदण्डलाई आधार बनाइएको थियो।
नबिल बैंकले यसअघि पनि सन् २०२३ र २०२४ का वार्षिक प्रतिवेदनका लागि यही गोल्ड अवार्ड प्राप्त गरेको थियो। यस वर्ष पुरस्कृत वार्षिक प्रतिवेदन दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बीपीए अवार्ड का लागि समेत नेपालको प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ।
हाल नबिल बैंकले देशभर २६६ शाखा र ३१८ एटीएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। चार दशकदेखि बैंकिङ सेवा दिँदै आएको बैंकले पछिल्ला वर्षहरूमा दिगो तथा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै ‘एनबैंक’ डिजिटल प्लेटफर्ममार्फत सेवा विस्तार गरिरहेको जनाएको छ।

