काठमाडौँ । रसुवामा आएको बाढीका कारण विभिन्न बस्ती तथा पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ तथा एयरलाइन्स श्रमिकहरूको संगठन यूनिट्राभ नेपालले प्रभावित श्रमिकको तत्काल खोजी, उद्धार र सुरक्षित स्थानान्तरण गर्न सरकारसँग माग गरेको छ।
यूनिट्राभ नेपालले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा बाढीका कारण टिपुरे तथा आसपासका क्षेत्रको जनजीवन प्रभावित भएको जनाएको छ। बाढीबाट विभिन्न बस्ती प्रभावित हुनुका साथै ठूलो जनधनको क्षति भएकोप्रति संगठनले दुःख व्यक्त गरेको छ।
संगठनका अनुसार लाङटाङ, गोसाइँकुण्ड, त्रिशूलीलगायतका पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक लिएर गएका पर्यटन क्षेत्रका ठूलो संख्यामा श्रमिक सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण अझै आउन बाँकी रहेकाले सम्पर्कविहीन श्रमिकहरूको अवस्थाबारे संगठन चिन्तित रहेको विज्ञप्तिमा उल्लेख छ।
यूनिट्राभ नेपालले विपद्को अवस्थामा सम्पर्कविहीन पर्यटन क्षेत्रका श्रमिकहरूको तत्काल खोजी, उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि नेपाल सरकार, गृह प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै निकायसँग समन्वय गर्न आग्रह गरेको छ।
सरकारसँग पाँचबुँदे माग
यूनिट्राभ नेपालले प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धार टोली परिचालन गर्न, सम्पर्कविहीन श्रमिक तथा पर्यटकको पहिचान गरी उनीहरूको अवस्था सार्वजनिक गर्न र प्रभावित श्रमिक तथा नागरिकलाई सुरक्षित स्थानमा उद्धार गरी आवश्यक राहत उपलब्ध गराउन माग गरेको छ।
त्यस्तै, बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यथाशीघ्र यकिन विवरण सार्वजनिक गर्न तथा प्रभावित क्षेत्रमा खाना, खानेपानी, स्वास्थ्य सेवा र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न पनि संगठनले सरकारसँग आग्रह गरेको छ।
संगठनले सम्पर्कविहीन श्रमिकका परिवारलाई धैर्य धारण गर्न अपिल गर्दै विपद्को समयमा प्रभावित श्रमिकको जीवनरक्षा, उद्धार तथा राहतका लागि आवश्यक सहयोग र समन्वय गर्न आफूहरू तयार रहेको जनाएको छ।
यूनिट्राभ नेपालका अध्यक्ष सुमनप्रसाद पराजुलीद्वारा जारी विज्ञप्तिमा सम्पर्कविहीन श्रमिकको अवस्था तत्काल सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरिएको छ।

