काठमाडौं । ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिई (ZTE) ले नेपाली मोबाइल बजारमा आफ्नो नयाँ गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ सार्वजनिक गरेको छ। मोबाइल गेमिङ पारखीलाई लक्षित गरी ल्याइएको यो स्मार्टफोन उच्चस्तरीय गेमिङ फिचर, अत्याधुनिक कुलिङ प्रणाली र शक्तिशाली ब्याट्रीसहित उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नुबिया नियो सिरिजअन्तर्गतको यो नयाँ स्मार्टफोनमा १.५के रिजोलुसनको १४४ हर्ज गेमिङ डिस्प्ले, ५५० हर्ज नियो ट्रिगर्स ५.०, गेमिङ उद्योगमै पहिलोपटक समावेश गरिएको बिल्ट–इन कुलिङ फ्यान, ८० वाट फास्ट चार्जिङ र ६,२१० एमएएच डुअल–सेल ब्याट्री जस्ता विशेषता रहेका छन्। यी सुविधाले लामो समयसम्म सहज, छिटो र उच्च प्रदर्शनयुक्त गेमिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
नुबिया नियो ५ जीटी ५जी सार्वजनिक गर्दै जेडटिई नेपालका प्रमुख कार्यकारी अधिकृत सबिन श्रेष्ठले नेपालमा तीव्र रूपमा बढिरहेको मोबाइल गेमिङ समुदायलाई लक्षित गरेर यो स्मार्टफोन विकास गरिएको बताए। अत्याधुनिक कुलिङ प्रणाली, तीव्र प्रतिक्रिया दिने गेमिङ कन्ट्रोल र शक्तिशाली ब्याट्रीका कारण उचित मूल्यमा प्रिमियम गेमिङ अनुभव उपलब्ध गराउने विश्वास उनले व्यक्त गरे।
त्यस्तै, शंकर ग्रुप तथा जगदम्बा मोबाइल्सका कार्यकारी निर्देशक सक्षम जटियाले नेपाली बजारमा गेमिङ स्मार्टफोनको माग निरन्तर बढिरहेको उल्लेख गर्दै नुबिया नियो ५ जीटी ५जी ले नवीन प्रविधि, उच्च प्रदर्शन र प्रतिस्पर्धी मूल्यको उत्कृष्ट संयोजन उपभोक्तालाई उपलब्ध गराउने बताए।
१२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध नुबिया नियो ५ जीटी ५जी को मूल्य रु. ७७,९९९ तोकिएको छ। स्मार्टफोन जगदम्बा मोबाइल्स प्रालिमार्फत नेपालभर उपलब्ध हुनेछ। ग्राहकहरूले ० प्रतिशत ब्याजदरको ईएमआई सुविधा मार्फत पनि यो स्मार्टफोन खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
यसअघि जेडटिईले नेपाली बजारमा ‘नुबिया नियो ५ ५जी’ पनि सार्वजनिक गरिसकेको छ। ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको उक्त स्मार्टफोनको मूल्य रु. ५५,९९९ रहेको छ। यसमा युनिसोक टी९३०० अल्टिमेट (६ एनएम) चिपसेट, ६.८ इन्चको १२० हर्ज आईपीएस एलसीडी डिस्प्ले, म्याजिक टच ३.०, ५५० हर्ज नियो ट्रिगर्स ५.०, २० हजार वर्ग मिलिमिटर मल्टिलेयर कुलिङ सिस्टम, ५० मेगापिक्सेल एआई डुअल रियर क्यामेरा, १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा तथा ४५ वाट बाइपास चार्जिङसहितको ६,०५० एमएएच ब्याट्री जस्ता विशेषता समावेश छन्।
यसअघि नै जेडटिईले नेपाली बजारमा आफ्नो फ्ल्यागशिप गेमिङ स्मार्टफोन रेडम्याजिक ११ प्रो पनि सार्वजनिक गरिसकेको छ, जसले नेपाली गेमर तथा प्रविधि पारखीबाट सकारात्मक प्रतिक्रिया पाएको कम्पनीको दाबी छ।
नुबिया नियो ५ ५जी, रेडम्याजिक ११ प्रो र अब नुबिया नियो ५ जीटी ५जी को सार्वजनिकसँगै जेडटिईले नेपालमा आफ्नो गेमिङ स्मार्टफोन पोर्टफोलियोलाई थप विस्तार गर्दै अत्याधुनिक गेमिङ प्रविधिलाई नेपाली उपभोक्तामाझ सहज रूपमा उपलब्ध गराउने रणनीतिलाई निरन्तरता दिएको जनाएको छ।

