काठमाडौं । विश्वप्रसिद्ध मोबाइल गेम पब्जी मोबाइल (PUBG MOBILE) ले आफ्नो आगामी भर्सन ४.५ मार्फत लोकप्रिय जापानी एनिमे फ्रेन्चाइज नारुटो शिप्पुडेन (Naruto Shippuden) सँग ऐतिहासिक सहकार्य गर्ने घोषणा गरेको छ। आगामी जुलाई ९ देखि उपलब्ध हुने अपडेटमार्फत गेमरहरूले नारुटोको संसारबाट प्रेरित नयाँ गेमप्ले, विशेष फिचर, रूपान्तरित गेम वातावरण तथा अन्तरक्रियात्मक अनुभव प्राप्त गर्नेछन्।
पब्जी मोबाइलका अनुसार यो सहकार्य गेमको आठ वर्षे इतिहासकै सबैभन्दा महत्वाकांक्षी सहकार्यमध्ये एक हो। विश्वभर लोकप्रिय ब्याटल रोयाल गेम र सांस्कृतिक रूपमा प्रभावशाली एनिमे फ्रेन्चाइजबीचको यस सहकार्यले पहिलोपटक गेमरहरूलाई पब्जी मोबाइलभित्रै नारुटो शिप्पुडेनको संसार अनुभव गर्ने अवसर प्रदान गर्नेछ।
नारुटो प्रोडक्सन कमिटीको प्रत्यक्ष सुपरिवेक्षणमा तयार गरिएको यस अपडेटमा हिडन लिफ भिलेज, होकागे रक र द फाइनल भ्याली जस्ता नारुटोका चर्चित स्थानहरूलाई गेममा समावेश गरिएको छ। साथै, खेलाडीहरूले चिडोरी, रासेङ्गन, स्याडो क्लोन र फ्लाइङ राइजिन जुत्सु जस्ता चर्चित निन्जुत्सु सीप प्रयोग गर्न सक्नेछन्।
अपडेटमा खेलाडीहरूले नारुटो कथाको प्रमुख पात्र द नाइन टेल्स (कुरामा) विरुद्ध विशेष बोस फाइट खेल्ने अवसर पनि पाउनेछन्। यसबारे थप विवरण भने कम्पनीले छिट्टै सार्वजनिक गर्ने जनाएको छ।
यस सहकार्यअन्तर्गत नारुटो उज़ुमाकी, सासुके उचिहा, साकुरा हारुनो, काकाशी हाताके, हिनाटा ह्युगा, सुनाडे, जिराइया, गारा र मादारा उचिहा लगायत लोकप्रिय पात्रमा आधारित विशेष क्यारेक्टर सेटहरू पनि उपलब्ध हुनेछन्। साथै, नारुटो शिप्पुडेनसँग सम्बन्धित अन्य थिममा आधारित सामग्रीहरू पनि क्रमशः सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
यस सहकार्यबारे टेन्सेन्ट गेम्सअन्तर्गत पब्जी मोबाइल पब्लिसिङका प्रमुख भिन्सेन्ट वाङले नवीन सहकार्य र उत्कृष्ट गेमिङ अनुभवमार्फत अन्तरक्रियात्मक मनोरञ्जन क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने प्रतिबद्धता दोहोर्याए। विश्वभर नारुटोको लोकप्रियता र विशाल फ्यानबेसका कारण यो सहकार्य स्वाभाविक छनोट बनेको उल्लेख गर्दै उनले नारुटोका प्रिय पात्र र कथालाई पब्जी मोबाइलको रोमाञ्चक गेमिङ अनुभवसँग जोडेर अहिलेसम्मकै सबैभन्दा बहुप्रतीक्षित अपडेट ल्याउन लागेको बताए।
सन् १९९९ मा सुरु भएको नारुटो विश्वकै सर्वाधिक लोकप्रिय तथा प्रभावशाली एनिमे र माङ्गा फ्रेन्चाइजमध्ये एक मानिन्छ। यसले विश्वभर करोडौं दर्शक र प्रशंसकको मन जित्दै लामो समयदेखि आफ्नो लोकप्रियता कायम राख्दै आएको छ।
पब्जी मोबाइलले भर्सन ४.५ सम्बन्धी थप जानकारी आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ। खेलाडीहरूले एप स्टोर तथा गुगल प्ले स्टोरबाट पब्जी मोबाइल निःशुल्क डाउनलोड गरी नयाँ अपडेटको अनुभव लिन सक्नेछन्।

