काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा सर्वोच्च अदालतका बहालवाला रजिष्ट्रार मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको परिषद्को बैठकले कार्कीको नाम प्रमुख निर्वाचन आयुक्तका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
परिषद्ले रिक्त रहेको निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा र आगामी असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ।
सिफारिस भएका कार्की हाल सर्वोच्च अदालतका बहालवाला रजिष्ट्रार हुन्। यस्तै, डा. राजीव सुब्बा नेपाल प्रहरीका अवकाशप्राप्त प्राविधिक डीआईजी हुन् भने गुरुप्रसाद वाग्ले अवकाशप्राप्त सहमहान्यायाधिवक्ता हुन्। डा. सुब्बाले आफूभन्दा जुनियर अधिकारीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरिएपछि २०७६ सालमै डीआईजी पदबाट राजीनामा दिएका थिए।
नेपालको संविधानअनुसार संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने व्यवस्था छ। अब परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नियुक्ति हुने संवैधानिक व्यवस्था रहेको छ।

