काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा हासिल भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारका मुख्य उपलब्धिहरू सार्वजनिक गरेका हुन्।
प्रवक्ता पोखरेलका अनुसार सरकारको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ मा सीमित गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी प्रतिबद्धताअनुसार मन्त्रालयको सङ्ख्या घटाउने निर्णय कार्यान्वयन गरिएको र यसबाट राज्यकोषमा वार्षिक करिब २० अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको उनले बताए।
उनले मन्त्रालयको सङ्ख्या कटौतीसँगै सरकारी संरचनाको पुनःसंरचना, अनावश्यक निकाय खारेजी तथा समायोजनमार्फत प्रशासनिक खर्च घटाउने र कार्यक्षमता अभिवृद्धि गर्ने अभियान अघि बढाइएको जानकारी दिए।
प्रवक्ता पोखरेलले राजनीतिक दल निकट ट्रेड युनियन तथा विद्यार्थी संगठन खारेजीलगायतका सुधारात्मक निर्णयहरूले सार्वजनिक प्रशासनलाई थप निष्पक्ष, प्रभावकारी र जवाफदेही बनाउने दिशामा सकारात्मक सन्देश दिएको दाबी गरे।
सरकारले १०० दिनको अवधिमा प्रशासनिक सुधार, मितव्ययिता, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विभिन्न नीतिगत तथा संरचनागत निर्णयहरू कार्यान्वयनमा ल्याएको जनाएको छ। साथै आगामी दिनमा पनि यस्ता सुधारका कार्यक्रमलाई निरन्तरता दिइने सरकारको भनाइ छ।

