काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सरकार, निर्माण पक्ष र स्थानीय समुदाय सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ। आयोजनाको सफल कार्यान्वयनले बाँके जिल्लाको कृषि उत्पादन, खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने उनको विश्वास छ।
आयोजनाको स्थलगत निरीक्षणपछि कर्मचारी तथा लाभान्वित किसानसँगको अन्तरक्रियामा मन्त्री श्रेष्ठले सरकारले आयोजनाका लागि आवश्यक बजेट सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिए। आयोजना समयमै सम्पन्न गर्न आवश्यक ऐन–कानुन र प्रशासनिक प्रक्रियामा देखिएका जटिलता समाधानका लागि सरकारले आवश्यक पहल गर्ने तथा बहुवर्षीय ठेक्का र सहमतिसम्बन्धी प्रक्रियालाई थप सहज र प्रभावकारी बनाइने उनले बताए ।
मन्त्री श्रेष्ठले नहर क्षेत्रको अतिक्रमण, प्रदूषण र अनियन्त्रित सहरीकरणका कारण सिँचित क्षेत्र खुम्चिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै नहर संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले सिँचाइ पूर्वाधार निर्माणसँगै किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरण, गुणस्तरीय बीउ तथा मलको उपलब्धता र कृषि मूल्य शृङ्खला विकासमा समेत सरकारले आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सिक्टा सिँचाइ आयोजना पूर्वाधार निर्माणमा मात्र सीमित नभई बाँकेको कृषि आधुनिकीकरण, उत्पादन वृद्धि, खाद्य सुरक्षाको सुदृढीकरण र किसानको आयआर्जन वृद्धि गर्ने दीर्घकालीन आधार बन्ने उनको भनाइ थियो। निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले स्थानीय किसानसँग रोपाइँको अवस्था र उनीहरूले भोगिरहेका समस्याबारे समेत जानकारी लिएका थिए ।
राप्ती सोनारी गाउँपालिका–अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरी सञ्चालनमा रहेको सिक्टा सिँचाइ आयोजना आर्थिक वर्ष २०६१/६२ मा नेपाल सरकारकै लगानीमा सुरु भएको हो। आयोजनाले बाँकेका आठ स्थानीय तहका ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ।
आर्थिक वर्ष २०६८/६९ मा राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत यस आयोजनाको कुल अनुमानित लागत करिब ५२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ भने आर्थिक वर्ष २०८९/९० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हालसम्म आयोजनाको ५०.५० प्रतिशत भौतिक र ४५.५३ प्रतिशत वित्तीय प्रगति भएको छ। करिब २४ अर्ब ८ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले हालसम्म करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिसकेको जनाएको छ।

