काठमाडौँ । उपसभामुख रुबीकुमारी ठाकुर चीनको तिब्बत स्वायत्त क्षेत्रमा आयोजना हुने ट्रान्स–हिमालयन फोरममा सहभागी हुन जाने भएकी छन्। तय कार्यक्रमअनुसार उनी ३१ असारमा तिब्बत प्रस्थान गर्ने र ३ साउनमा नेपाल फर्किनेछिन्।
उपसभामुख नियुक्त भएपछि ठाकुरको यो पहिलो विदेश भ्रमण हुनेछ। कूटनीतिक स्रोतका अनुसार तिब्बतको लिन्जीमा ३२ असारदेखि २ साउनसम्म सञ्चालन हुने फोरममा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन्।
भ्रमणका क्रममा उपसभामुख ठाकुरले तिब्बत सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत क्षेत्रीय नेताहरूसँग भेटवार्ता गर्ने तयारी पनि रहेको स्रोतले जनाएको छ।
चीनले आयोजना गर्ने ट्रान्स–हिमालयन फोरममा विभिन्न देशका राजनीतिक नेतृत्व, व्यवसायी तथा विज्ञहरूको सहभागिता रहनेछ।
गत वर्ष आयोजित सोही फोरममा चीनका लागि तत्कालीन नेपाली राजदूत डा. कृष्णप्रसाद ओली र ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला सहभागी भएका थिए। यस वर्ष भने उपसभामुख ठाकुर नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँगै महावाणिज्यदूत निरौलाको पनि सहभागिता रहने कार्यक्रम छ।
यद्यपि, उपसभामुख ठाकुरको तिब्बत भ्रमणबारे नेपाल र चीन दुवै सरकारले हालसम्म औपचारिक रूपमा सार्वजनिक घोषणा गरेका छैनन्।

