२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • मूल्य विवादले क्यान्सर उपचारमा असर, सरकारी...

मूल्य विवादले क्यान्सर उपचारमा असर, सरकारी अस्पतालमा सिसप्लाटिन औषधिको चरम अभाव

मूल्य विवादले क्यान्सर उपचारमा असर, सरकारी अस्पतालमा सिसप्लाटिन औषधिको चरम अभाव

आइतवार, आषाढ २१ २०८३१०:५६
आइतवार, आषाढ २१ २०८३१०:५६
  • images

    काठमाडौँ । क्यान्सरका बिरामीको किमोथेरापी उपचारमा अत्यावश्यक मानिने सिसप्लाटिन र कार्बोप्लाटिन औषधिको अभावका कारण सरकारी क्यान्सर अस्पतालमा उपचार सेवा प्रभावित भएको छ। विशेषगरी सिसप्लाटिनको मौज्दात सकिएपछि बिरामीले आवश्यक औषधि सहज रूपमा पाउन सकेका छैनन्।

    गत ९ जेठदेखि अभाव सुरु भएको सिसप्लाटिनको १,२०० भायल ८ असारमा नेपाल भित्रिएको थियो। तर ती औषधि पनि गत बुधबारदेखि सकिएपछि पुनः अभाव चुलिएको छ।

    स्वास्थ्य मन्त्रालय र औषधि आयातकर्ताबीच मूल्य समायोजनमा सहमति हुन नसक्दा थप आयात अन्योलमा परेको आयातकर्ताहरूको भनाइ छ। औषधि आयातकर्ता संघ (मियान) का अध्यक्ष पवन आचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्लाटिनमको मूल्य बढेसँगै औषधिको उत्पादन लागत पनि बढेको छ। तर नेपालमा पुरानै मूल्यमा बिक्री गर्नुपर्ने व्यवस्था रहेकाले आयात गर्न कठिन भएको उनले बताए।

    पश्चिम एसियामा जारी द्वन्द्वका कारण प्लाटिनमको मूल्य बढेपछि भारत र बंगलादेशले सम्बन्धित औषधिको मूल्य समायोजन गरिसकेका छन्। तर नेपालमा भने हालसम्म मूल्य पुनःनिर्धारण हुन सकेको छैन।

    हाल औषधि व्यवस्था विभागबाट एक दर्जनभन्दा बढी कम्पनीले औषधि आयातको अनुमति पाए पनि कार्बोप्लाटिन र सिसप्लाटिन भने चारवटा आयातकर्ताले मात्र ल्याउने गरेका छन्। आयातकर्ताहरूले यी औषधिमा स्वचालित मूल्य प्रणाली लागू गर्न माग गर्दै आएका छन्।

    दुई साताअघि संसद्मा स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहताले कार्बोप्लाटिन, सिसप्लाटिन, रेबिजलगायतका औषधिमा स्वचालित मूल्य प्रणाली लागू गरिने बताएकी थिइन्। तर औषधि व्यवस्था विभागले हालसम्म त्यसलाई कार्यान्वयन नगरेको जनाएको छ। विभागले विद्यमान मूल्य प्रणालीभन्दा फरक ढंगले खरिद गर्न नमिल्ने अडान राखेको छ भने आयातकर्ताहरू मूल्य समायोजन नभएसम्म आयात गर्न नसकिने पक्षमा छन्।

    भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार अस्पतालमा सिसप्लाटिन र कार्बोप्लाटिन दुवै औषधिको अभाव छ। उनले दैनिक करिब १०० भायल सिसप्लाटिन आवश्यक पर्ने भए पनि नियमित आपूर्ति हुन नसकेको बताए।

    उनका अनुसार औषधि नपाउँदा धेरै बिरामीले निजी बजारबाट महँगो मूल्यमा खरिद गर्न बाध्य भएका छन् भने कतिपय उपचारका लागि भारतसम्म पुगेर औषधि ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend