काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ का सबै खेल सम्पन्न भएसँगै क्वार्टरफाइनल पुग्ने आठ टोलीको टुंगो लागेको छ।
गएराति अर्जेन्टिनाले इजिप्टलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो भने आज बिहान सम्पन्न खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो।
अब उपाधिका लागि प्रतिस्पर्धा गर्ने टोलीमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड रहेका छन्। यससँगै प्रतियोगितामा सहभागी बाँकी ४० टोलीको यात्रा समाप्त भएको छ।
क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ भने स्पेन र बेल्जियम आमनेसामने हुनेछन्। त्यसैगरी नर्वेले इंग्ल्यान्डसँग खेल्नेछ भने अर्जेन्टिनाले स्विट्जरल्यान्डको चुनौती सामना गर्नेछ।
महादेशगत रूपमा हेर्दा क्वार्टरफाइनलमा युरोपका सबैभन्दा धेरै ६ टोली पुगेका छन्। दक्षिण अमेरिकाबाट अर्जेन्टिना र अफ्रिकाबाट मोरक्कोले मात्र अन्तिम आठमा स्थान बनाउन सफल भएका छन्। एशियासहित अन्य कुनै पनि महादेशका टोलीले भने क्वार्टरफाइनलमा स्थान बनाउन सकेनन्।
यस संस्करणका सहआयोजक अमेरिका, मेक्सिको र क्यानडासमेत प्रतियोगिताबाट बाहिरिएका छन्। त्यस्तै पाँच पटकको विश्व विजेता ब्राजिलसँगै पोर्चुगल र जर्मनीजस्ता बलिया टोली पनि उपाधि होडबाट बाहिरिएका छन्।
विश्वकप २०२६ का क्वार्टरफाइनल खेलहरू बिहीबार रातिदेखि सुरु हुनेछन्।

