काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ नेपालले यात्रुको छनोटको अधिकार, पारदर्शी भाडादर र सहज शहरी आवागमनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘आफ्नै रोजाइको भाडा। यहाँ मात्र।’ भन्ने मूल नारासहित नयाँ प्यासेन्जर ३६०° क्याम्पेन सुरु गरेको छ।
कम्पनीका अनुसार सन् २०२६ को जुनदेखि सुरु भएको उक्त क्याम्पेन सेप्टेम्बरसम्म काठमाडौं केन्द्रित रूपमा सञ्चालन हुनेछ। क्याम्पेनमार्फत यात्रुलाई आफ्नो यात्रासम्बन्धी निर्णयमा थप नियन्त्रण दिने तथा पारदर्शी, भरपर्दो र लचिलो मोबिलिटी सेवाप्रति इनड्राइभको प्रतिबद्धता झल्काइने कम्पनीले जनाएको छ।
काठमाडौंजस्तो व्यस्त सहरमा ट्राफिक जाम, समयको चाप र सार्वजनिक यातायातको अनिश्चितताले दैनिक आवागमन चुनौतीपूर्ण बन्दै गइरहेका बेला यात्रुले सहज सेवा मात्र नभई पारदर्शी भाडा, आफ्नो आवश्यकता अनुसार चालक छनोट गर्ने सुविधा र निर्णयको स्वतन्त्रता खोजिरहेको कम्पनीको भनाइ छ। यही आवश्यकतालाई सम्बोधन गर्न इनड्राइभले यात्रु र चालक दुवैको सहमतिमा भाडा तय हुने यात्रु–केन्द्रित सेवा मोडललाई प्राथमिकता दिएको जनाएको छ।
नेपालमा सेवा सुरु गरेयता इनड्राइभले यात्रुलाई आफूले तिर्न चाहेको भाडा प्रस्ताव गर्ने, उपलब्ध चालकका विकल्पहरू हेर्ने तथा आवश्यकताअनुसार चालक छनोट गर्ने सुविधा उपलब्ध गराउँदै आएको छ। यसबाट यात्रुले यात्रा स्वीकार गर्नुअघि नै भाडादर र चालकसम्बन्धी जानकारीका आधारमा सूचित निर्णय लिन सक्ने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने प्यासेन्जर ३६०° क्याम्पेनअन्तर्गत ‘आफ्नै रोजाइको भाडा। यहाँ मात्र।’ विषयवस्तुमा आधारित डिजिटल भिडियो, सामाजिक सञ्जाल सामग्री, आउट–अफ–होम विज्ञापन, इन्फ्लुएन्सर सहकार्य, इन–एप अनुभव तथा काठमाडौंका विभिन्न स्थानमा प्रत्यक्ष प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ।
क्याम्पेनमा बिहान सबेरै काममा निस्कने यात्रुदेखि राति अबेरसम्म यात्रा गर्ने व्यक्ति, विद्यार्थी, युवा पेसाकर्मी तथा स्वतन्त्र रूपमा यात्रा गर्न चाहने महिलासहित काठमाडौंका विभिन्न वर्गका यात्रुको वास्तविक अनुभवलाई समेटिने कम्पनीले जनाएको छ। प्रत्येक यात्रुको आवश्यकता फरक हुने भएकाले समय, सुविधा र बजेटअनुसार यात्रा छनोट गर्ने स्वतन्त्रता नै क्याम्पेनको मुख्य सन्देश रहेको कम्पनीको भनाइ छ।
इनड्राइभको सेवा अवधारणा यात्रु र चालक दुवैलाई भाडादर र यात्रासम्बन्धी निर्णयमा समान अवसर प्रदान गर्ने सिद्धान्तमा आधारित रहेको कम्पनीले जनाएको छ। यात्रुले एपमार्फत आफूले तिर्न चाहेको भाडा प्रस्ताव गर्न सक्नेछन् भने चालकले उक्त प्रस्ताव स्वीकार, अस्वीकार वा वैकल्पिक भाडा प्रस्ताव गर्न सक्नेछन्। दुवै पक्षको सहमतिपछि मात्र यात्रा अघि बढ्ने व्यवस्था रहेको कम्पनीले स्पष्ट पारेको छ।
इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रिता पोखरेलले काठमाडौंका यात्रुले सहज सेवासँगै पारदर्शी भाडा, थप छनोटको अवसर र यात्रासम्बन्धी निर्णयमा आत्मविश्वास खोज्ने गरेको बताइन्। ‘आफ्नै रोजाइको भाडा। यहाँ मात्र।’ क्याम्पेनले नेपालका यात्रुलाई त्यही अनुभव प्रदान गर्ने कम्पनीको निरन्तर प्रयासको प्रतिबिम्ब रहेको उनको भनाइ छ।
कम्पनीले यस अभियानमार्फत अनुमानयोग्य तथा पारदर्शी भाडादर, यात्रुको छनोटको अधिकार र दैनिक आवागमनलाई थप सहज बनाउने प्लेटफर्मका रूपमा इनड्राइभको पहिचान अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

