काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले ग्रामीण तथा दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न, शान्ति सुरक्षा प्रभावकारी बनाउन तथा विभिन्न जनसरोकारका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नितिमा भण्डारीले सर्लाहीको लालबन्दी नगरपालिका–९ बाट वडा नम्बर ७ तर्फ जाँदै गरेका मोबाइल व्यवसायी नवराज सापकोटामाथि बुधबार राति लुटपाटको उद्देश्यले चार राउन्ड गोली प्रहार भएको घटना उल्लेख गर्दै जिल्लामा नागरिकको सुरक्षा सुनिश्चित गर्न गृह प्रशासनको ध्यानाकर्षण गराइन्।
नेपाली कांग्रेसका सांसद मोहम्मद फिरदोश आलमले रौतहटको राजपुर नगरपालिकाअन्तर्गत हुलाकी राजमार्गको पुलमुनि एक महिलाको शव फेला परेको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरे।
रास्वपाका सांसद शिवशङ्कर यादवले सिरहामा सुविधासम्पन्न बर्थिङ सेन्टरको अभावका कारण मातृ तथा शिशु मृत्युदर बढ्दै गएको उल्लेख गर्दै धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ अस्पतालको बर्थिङ सेन्टर तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरे।
नेपाल कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले सल्यान अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावका कारण सर्वसाधारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको भन्दै तत्काल विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।
त्यसैगरी, नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाको सीमामा निर्माणाधीन जलविद्युत् आयोजनाले सम्झौताअनुसार स्थानीय तहप्रति आफ्नो सामाजिक उत्तरदायित्व पूरा नगरेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।
सांसदहरूले जनजीवनसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, सुरक्षा तथा विकास निर्माणका विषयमा सरकारले शीघ्र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

