काठमाडौँ । नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रालिले चितवनमा आफ्नो सेवा सञ्जाल विस्तार गर्दै नारायणगढमा अत्याधुनिक ३एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। यसका लागि कम्पनीले अटो वेज पोखरा प्रालिलाई चितवनका लागि आधिकारिक डिलर नियुक्त गरेको हो।
नयाँ केन्द्रमार्फत ग्राहकहरूले टोयोटाका नयाँ सवारीसाधन खरिद, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मर्मत सेवा तथा जेन्युइन स्पेयर पार्ट्स एउटै स्थानबाट सहज रूपमा प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार यस सेवाले चितवन, नवलपुर, मकवानपुर तथा आसपासका जिल्लाका ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउनेछ।
शोरुम उद्घाटन कार्यक्रममा अटो वेज पोखरा प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले ग्राहकको विश्वास नै कम्पनीको सबैभन्दा ठूलो सम्पत्ति भएको बताए। सन् २०११ देखि भरतपुरबाट सेवा सुरु गरेको अटो वेजले विगत १५ वर्षमा ग्राहकसँग बलियो सम्बन्ध निर्माण गर्न सफल भएको उल्लेख गर्दै उनले नयाँ ३एस सुविधा उत्कृष्ट स्वामित्व अनुभव र प्रभावकारी बिक्रीपछिको सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको जानकारी दिए ।
उनले उद्योग, यातायात तथा कृषि क्षेत्रको तीव्र विकाससँगै चितवन नेपालकै सम्भावनायुक्त अटोमोबाइल बजारमध्ये एकका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै विश्वस्तरीय सेवा उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको बताए।
कार्यक्रममा वैद्य अर्गनाइजेशन अफ इन्डस्ट्रिज (भिओआईटी) का अध्यक्ष सुरज वैद्यले टोयोटाको सेवा विस्तार ग्राहकप्रतिको दीर्घकालीन प्रतिबद्धताको निरन्तरता भएको बताए । उनले गुणस्तर, सुरक्षा, टिकाउपन र विश्वसनीयताका कारण टोयोटाले विश्वव्यापी पहिचान बनाउन सफल भएको उल्लेख गरे ।
उनका अनुसार चितवनमा अत्याधुनिक ३एस सुविधा सञ्चालनमा आउनु यस क्षेत्रका ग्राहकका लागि महत्वपूर्ण उपलब्धि हो। अब चितवनका ग्राहकले राजधानी धाउनुपर्ने झन्झटबिना आफ्नै शहरबाट अन्तर्राष्ट्रियस्तरको बिक्री तथा बिक्रीपछिको सेवा प्राप्त गर्न सक्नेछन्।
पछिल्ला वर्षहरूमा उद्योग, व्यापार, पर्यटन, यातायात तथा कृषि क्षेत्रमा तीव्र विस्तारसँगै चितवन प्रमुख आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको छ। यस्तो अवस्थामा टोयोटाको नयाँ ३एस सुविधा सञ्चालनमा आउनुले स्थानीय ग्राहकलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउनुका साथै यस क्षेत्रको अटोमोबाइल बजारलाई थप गतिशील बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

