काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तिम चरणमा प्रवेश गरेको छ। क्वाटरफाइनलका सबै खेल सम्पन्न भएसँगै सेमिफाइनल खेल्ने चारवटै टोलीको टुंगो लागेको छ।
यसपटकको विश्वकपमा एउटा रोचक संयोग देखिएको छ। फिफा विश्व वरीयताको शीर्ष चार स्थानमा रहेका फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्ल्यान्ड सबै सेमिफाइनलमा पुग्न सफल भएका छन्।
विश्व वरीयताको शीर्ष स्थानमा रहेको फ्रान्सले मोरक्कोलाई २–० गोलले पराजित गर्दै सबैभन्दा पहिले अन्तिम चारमा स्थान बनाएको थियो। त्यसपछि स्पेनले बेल्जियमलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो।
यस्तै, इङ्ल्यान्डले नर्वेमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो।
केहीबेरअघि सम्पन्न अन्तिम क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुग्ने चौथो टोली बन्यो।
अब विश्व फुटबलका चार शक्तिशाली टोलीबीच फाइनल प्रवेशका लागि रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ। विश्वकप उपाधिको होड थप रोचक बनेको छ, जहाँ चारै टोली उपाधिका बलिया दाबेदारका रूपमा मैदान उत्रिनेछन्।

