काठमाडौँ । कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरीपाटीमा स्थानान्तरण गरिएका सुकुम्बासीलाई सरकारले छिट्टै लालपुर्जा वितरण गर्ने आश्वासन दिएको छ।
आइतबार मन्त्रीहरूको टोली खरीपाटी पुगेर सुकुम्बासीसँग भेटघाट गर्दै उनीहरूको पुनःस्थापना, आवास व्यवस्थापन तथा लालपुर्जा वितरण प्रक्रिया शीघ्र अघि बढाइने जानकारी दिएको हो।
भेटका क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सुरक्षित स्थानमा स्थानान्तरण गर्नुको उद्देश्य उनीहरूलाई दीर्घकालीन रूपमा बसोबासको सुनिश्चितता दिलाउनु र लालपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाउनु रहेको बताइन्।
उनले वर्षौंदेखि सुकुम्बासीको समस्या राजनीतिक मुद्दाका रूपमा मात्रै प्रयोग हुने प्रवृत्तिको अन्त्य गर्दै सरकारले वास्तविक समाधानतर्फ काम गरिरहेको दाबी गरिन्।
मन्त्री रावलका अनुसार लालपुर्जा वितरण अभियान असारको तेस्रो सातादेखि सुरु गर्ने विषय संसद्मै जानकारी गराइएको थियो। सोही योजनाअनुसार बर्दियाबाट वितरण प्रक्रिया सुरु भइसकेको र आगामी केही साताभित्र देशका अन्य जिल्लामा पनि विस्तार गरिने उनले बताइन्।
खरीपाटीमा रहेका सुकुम्बासीको हकमा भने आवश्यक कागजात, तथ्याङ्क प्रमाणीकरण तथा कानुनी प्रक्रिया पूरा गरी प्राथमिकताका साथ लालपुर्जा उपलब्ध गराइने मन्त्री रावलले आश्वासन दिइन्।
कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीलाई अस्थायी रूपमा खरीपाटीमा सारिएको थियो। उनीहरूले स्थायी बसोबास, सुरक्षित आवास र जग्गाको स्वामित्व सुनिश्चित गर्न सरकारसँग माग गर्दै आएका छन्।

