काठमाडौँ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मार्कीचोक–भरतपुर खण्डको पहिलो सर्किट सफलतापूर्वक सञ्चालनमा आएको छ। यससँगै राष्ट्रिय प्रसारण प्रणालीमा करिब ८० मेगावाट विद्युत् प्रवाह सुरु भएको छ भने देशको विद्युत् प्रसारण पूर्वाधार थप सुदृढ बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार असार २५ गते राति १०ः३५ बजे उक्त प्रसारण लाइनको पहिलो सर्किटलाई २२० केभी नो–लोड चार्ज गरी सफल परीक्षण गरिएको थियो। त्यसपछि असार २७ गतेदेखि लाइनमार्फत नियमित रूपमा विद्युत् प्रवाह सुरु गरिएको हो।
मर्स्याङ्दी करिडोर आयोजना मनाङ, लमजुङ तथा दोर्दी नदी बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय एकीकृत प्रसारण प्रणालीमा जोड्ने उद्देश्यले निर्माण भइरहेको राष्ट्रिय गौरवको पूर्वाधार आयोजना हो। आयोजनाअन्तर्गत मनाङको धारापानीदेखि लमजुङको खुदी, उदीपुर हुँदै तनहुँस्थित न्यू मर्स्याङ्दी (मार्कीचोक) सबस्टेशन र त्यहाँबाट न्यू भरतपुर सबस्टेशनसम्म २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ।
आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि करिब १,६०० मेगावाट विद्युत् प्रसारण गर्न सक्ने क्षमता विकास हुने प्राधिकरणले जनाएको छ।
सात वर्षको अवरोधपछि निर्माणले लियो गति
मार्कीचोक–भरतपुर प्रसारण लाइन निर्माण स्थानीय अवरोध, जटिल भौगोलिक अवस्था, वन क्षेत्रमा रूख कटान स्वीकृतिमा भएको ढिलाइ तथा अन्य प्राविधिक चुनौतीका कारण करिब सात वर्षसम्म प्रभावित बनेको थियो। लमजुङ क्षेत्रमा देखिएको स्थानीय विवाद करिब १२ वर्षपछि समाधान भएपछि आयोजना पुनः तीव्र गतिमा अघि बढेको हो।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले आयोजनालाई उच्च प्राथमिकतामा राख्दै निर्माणमा देखिएका अवरोध हटाउन निरन्तर समन्वय र सहजीकरण गरेको जनाएको छ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आयोजना स्थलको निरीक्षण गरी निर्माण प्रगतिको समीक्षा गर्दै सम्बन्धित निकायलाई काम तीव्र बनाउन निर्देशन दिएका थिए।
त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आयोजनाको नियमित अनुगमन गर्दै प्राविधिक, प्रशासनिक तथा व्यवस्थापकीय समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय गरेका थिए। आयोजना प्रमुख नारायण रेग्मीको नेतृत्वमा रहेको टोलीले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा स्थानीय समुदायसँग सहकार्य गर्दै निर्माण कार्य सम्पन्न गराएको हो।
राष्ट्रिय प्रसारण सञ्जाल थप बलियो
प्राधिकरणका अनुसार पहिलो सर्किट सञ्चालनमा आएसँगै न्यू मर्स्याङ्दी (मार्कीचोक) २२० केभी सबस्टेशन राष्ट्रिय २२० केभी प्रसारण सञ्जालसँग प्रभावकारी रूपमा जोडिएको छ। अब मर्स्याङ्दी र दोर्दी नदी बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् न्यू भरतपुर सबस्टेशन हुँदै हेटौंडा, ढल्केबर लगायत २२० तथा ४०० केभी राष्ट्रिय प्रसारण सञ्जालमार्फत सहज रूपमा प्रवाह गर्न सकिने भएको छ।
हाल करिब ८० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको र यसबाट विशेषगरी दोर्दी नदी बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् खेर जान नदिई राष्ट्रिय प्रणालीमा समाहित गर्न सफल भएको मन्त्रालयले जनाएको छ।
दोस्रो सर्किट तथा बाँकी संरचना निर्माण सम्पन्न भएपछि मर्स्याङ्दी करिडोरको पूर्ण क्षमता उपयोग गर्दै अझ ठूलो परिमाणमा विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न सकिने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा आउनु नेपालको प्रसारण पूर्वाधार विकासका लागि महत्वपूर्ण उपलब्धि हो। यसले स्वदेशी जलविद्युत्को अधिकतम उपयोग, राष्ट्रिय प्रसारण प्रणालीको विश्वसनीयता, ऊर्जा आत्मनिर्भरता तथा भविष्यमा क्षेत्रीय विद्युत् व्यापार विस्तारका लागि बलियो आधार तयार गरेको छ।

