काठमाडौँ । सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएको छ।
शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएपछि गम्भीर घाइते भएका मण्डललाई हेलिकप्टरमार्फत काठमाडौं ल्याई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका मेडिकल डाइरेक्टर डा. किरण नकर्मीका अनुसार उनको आज बिहान २:०५ बजे उपचारकै क्रममा मृत्यु भएको हो।
शुक्रबार साँझ करिब ७:३० बजे अस्पताल पुर्याइएका मण्डलको शरीरको करिब ८५ प्रतिशत भाग जलेको थियो। उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो।
प्रारम्भिक जानकारीअनुसार मण्डलले घरबाट करिब २०० मिटर टाढा पुगेर आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यसअघि बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा मुगुका २५ वर्षीय गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। त्यसैगरी शनिबार काठमाडौंको बुद्धनगर क्षेत्रमा आत्मदाहको प्रयास गरेकाकाे पनि उपचारकै क्रममा निधन भैसकेकाे छ ।

