काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) ले पछिल्लो साढे तीन महिनामा हराएका, बेवारिसे अवस्थामा फेला परेका तथा सडकमा आश्रित बालबालिकाको खोजतलास, उद्धार, संरक्षण र पारिवारिक पुनर्मिलनमा उल्लेखनीय सफलता हासिल गरेको छ।
मन्त्री सिता बादी ले पदभार ग्रहण गरेपछि २०८२ चैत १३ गतेदेखि २०८३ असार १० गतेसम्म सञ्चालन गरिएको अभियानमा हराएका बालबालिकाको खोजतलास तथा उद्धार कार्य प्रभावकारी बनेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार ४४० जना हराएका बालबालिकाको विवरण दर्ता भएकोमा २ हजार ४६ जना (करिब ८४ प्रतिशत) सकुशल फेला परेका छन्। हाल ३९४ जना बालबालिकाको खोजी कार्य नेपाल प्रहरी तथा सम्बन्धित निकायसँगको समन्वयमा जारी रहेको छ।
त्यसैगरी, बेवारिसे अवस्थामा फेला परेका १०३ जना बालबालिकाको उद्धार गरी संरक्षणमा राखिएको छ। तीमध्ये ६० जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ४३ जना बालबालिका संस्थागत संरक्षणमा रहेका छन्।
सडकमा आश्रित ६६ जना बालबालिकाको पनि उद्धार गरिएको मन्त्रालयले जनाएको छ। उद्धार गरिएकामध्ये २१ जना परिवारसँग पुनर्मिलन भएका छन् भने ४५ जना बालबालिका हाल सुरक्षित संस्थागत संरक्षणमा छन्।
यस अवधिमा बेवारिसे तथा सडकमा आश्रित गरी कुल १६९ जना बालबालिकाको उद्धार गरिएको छ। तीमध्ये ८१ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ८८ जना बालबालिका संस्थागत संरक्षणमा रहेका छन्।
मन्त्रालयले नेपाल प्रहरी, स्थानीय तह, राष्ट्रिय बाल अधिकार परिषद् तथा अन्य सरोकारवाला निकायसँगको सहकार्यमा जोखिममा रहेका बालबालिकाको शीघ्र खोजतलास, उद्धार, संरक्षण तथा पुनर्मिलनलाई उच्च प्राथमिकताका साथ अघि बढाउँदै आएको जनाएको छ।
बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर बाल संरक्षण प्रणालीलाई अझ प्रभावकारी, उत्तरदायी र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्रालयले आगामी दिनमा पनि हराएका तथा जोखिममा रहेका बालबालिकाको खोज, उद्धार, संरक्षण र पुनर्स्थापनाका कार्यक्रमलाई थप प्रभावकारी बनाइने जनाएको छ।

