काठमाडौँ । नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी सबै मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्।
सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार कांग्रेसका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमै सामूहिक राजीनामा बुझाएका हुन्।
‘हामी सबैले राजीनामा बुझाएका छौं। अब स्वीकृतिको पर्खाइमा छौं,’ मन्त्री भण्डारीले बताएका छन्।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले पनि मन्त्रिपरिषद् बैठकमै कांग्रेसका चारै मन्त्रीले एकैसाथ राजीनामा पेश गरेको जानकारी दिए।
‘आज बिहान बसेको क्याबिनेट बैठकमा हामी चारै जनाले सामूहिक रूपमा राजीनामा दिएका हौं,’ उनले बताए।
राजीनामाको कारणबारे भने कांग्रेस वा प्रदेश सरकारका तर्फबाट औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। मन्त्रीहरूको राजीनामा स्वीकृतिपछि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना रहेको छ।

