काठमाडौँ । नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेको केही घण्टापछि एमाले संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाह नेतृत्वको सरकारप्रतिको समर्थन समाप्त गर्ने निर्णय गरेको जनाएको छ। यससँगै सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा नयाँ राजनीतिक मोड आएको छ।
यसअघि मुख्यमन्त्री शाहले नेकपा (एमाले)बाट सरकारमा सहभागी सबै मन्त्रीलाई पदमुक्त गरेका थिए। सत्ता साझेदार कांग्रेस र एमालेबीच आर्थिक वर्ष २०८३/८४ को प्रदेश बजेटलाई लिएर लामो समयदेखि जारी विवाद उत्कर्षमा पुगेपछि मुख्यमन्त्रीले उक्त कदम चालेका हुन्।
मुख्यमन्त्री शाहले केही दिनअघि नै एमालेलाई सरकारमा रहने वा बाहिरिने विषयमा स्पष्ट निर्णय गर्न आग्रह गरेका थिए। त्यसपछि एमाले नेतृत्व आन्तरिक छलफलमा जुटेको थियो भने मुख्यमन्त्री पक्षले पनि सरकारको भावी रणनीतिबारे परामर्श गरिरहेको थियो।
एमालेले सरकारलाई निरन्तर समर्थन नदिने संकेत पाएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीलाई बर्खास्त गर्ने निर्णय गरेका थिए। त्यसको प्रतिउत्तरस्वरूप एमालेले सरकारप्रतिको समर्थन फिर्ता लिएको हो।
प्रदेश सरकारको बजेटलाई लिएर कांग्रेस र एमालेबीच लामो समयदेखि मतभेद रहँदै आएको थियो। एमालेले बजेटमा खर्च कटौती गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो भने मुख्यमन्त्री शाहले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए। तर एमाले आफ्नो अडानबाट पछि नहटेपछि सत्ता साझेदारीमा दरार गहिरिँदै गएको थियो।

