काठमाडौं । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका तथा पूर्वपदाधिकारीहरूको सम्पत्ति विवरण संकलन सम्बन्धी सम्पूर्ण प्रक्रिया हालका लागि स्थगित गरेको छ।
आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेशलाई आधार मानेर सम्पत्ति विवरण संकलन तथा छानबिनसँग सम्बन्धित सबै काम अर्को सूचना जारी नभएसम्म रोकिएको जनाएको हो।
आयोगका अनुसार सर्वोच्च अदालतले २०८३ असार २९ गते दिएको आदेशपछि आयोगले सार्वजनिक सूचना नं. ४ बमोजिम सम्पत्ति विवरण संकलनको काम अघि बढाइरहेको थियो। तर, त्यसविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतबाट २०८३ असार ३१ गते जारी भएको आदेशले रिटको अन्तिम टुंगो नलागेसम्म सम्पत्ति विवरण संकलनसम्बन्धी कार्य अगाडि नबढाउन निर्देशन दिएको छ।
अदालतको सो आदेशलाई कार्यान्वयन गर्दै आयोगले सम्पत्ति विवरण संकलन र त्यससँग सम्बन्धित सम्पूर्ण प्रक्रिया तत्कालका लागि स्थगित गरेको स्पष्ट पारेको छ।
आयोगले अर्को सूचना प्रकाशित नभएसम्म सम्पत्ति विवरण संकलन तथा छानबिनसम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढ्ने जानकारी दिँदै सम्बन्धित सबैलाई यसबारे अवगत गराएको छ।

