काठमाडाैँ । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एउटा ट्रक एकापसमा ठोक्किँदा ३३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ७:१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस तथा सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका ३३ जनाको तत्काल उद्धार गरी भरतपुरस्थित अस्पतालहरूमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये २४ जनाको नयाँ मेडिकल कलेज भरतपुर र ९ जनाको पुरानो मेडिकल कलेज भरतपुर मा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था सम्बन्धी थप विवरण भने सार्वजनिक गरिएको छैन।
दुर्घटनाका कारण तीनवटै सवारीसाधनमा क्षति पुगेको थियो। साथै केही समयका लागि मुग्लिङ–नारायणगढ सडकखण्ड दुवैतर्फ अवरुद्ध बनेको थियो। प्रहरी, सडक विभाग तथा स्थानीयको सक्रियतामा दुर्घटनाग्रस्त सवारी हटाइएपछि सडक पुनः सञ्चालनमा आएको छ।
प्रहरीले दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

