काठमाडौँ । संघीय संसदका सदस्यहरूले अब राजपत्राङ्कित तृतीय श्रेणी सरहका स्वकीय सचिव नियुक्त गर्न पाउने भएका छन्। सरकारले यससम्बन्धी व्यवस्था नेपाल राजपत्रमा प्रकाशित गरेसँगै उक्त प्रावधान औपचारिक रूपमा कार्यान्वयनमा आएको हो।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रकाशित गरेको राजपत्रअनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूले आफ्नो कार्यसम्पादनमा सहयोग पुर्याउन रा.प. तृतीय श्रेणी सरहका एक जना स्वकीय सचिव राख्न सक्ने व्यवस्था गरिएको छ।
राजपत्रले संसदका उच्च पदाधिकारीका लागि पनि छुट्टाछुट्टै स्वकीय सचिवालयको संरचना निर्धारण गरेको छ। सभामुख र राष्ट्रियसभा अध्यक्षले राजपत्राङ्कित विशिष्ट श्रेणी (रा.प.प्र.) सरहका एक प्रमुख स्वकीय सचिव नियुक्त गर्न सक्नेछन्। साथै उनीहरूले द्वितीय र तृतीय श्रेणीका एक–एक जना स्वकीय सचिवसमेत राख्न पाउने व्यवस्था गरिएको छ।
त्यसैगरी, प्रतिनिधिसभाका विपक्षी दलका नेता, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, प्रमुख सचेतक तथा संसदीय समितिका सभापतिले पनि राजपत्राङ्कित द्वितीय श्रेणी सरहका स्वकीय सचिव राख्न सक्ने व्यवस्था लागू गरिएको छ।
राजपत्रमा स्वकीय सचिवालयमा कार्यरत कर्मचारीले सम्बन्धित पदको सुरु स्केलअनुसारको तलब मात्र पाउने उल्लेख गरिएको छ। उनीहरूको पारिश्रमिक प्रचलित कानुनबमोजिम बैंक खातामार्फत भुक्तानी गरिने व्यवस्था पनि गरिएको छ।
सरकारले संसदका पदाधिकारी तथा सदस्यहरूको कार्यसम्पादनलाई थप व्यवस्थित, प्रभावकारी र प्रशासनिक रूपमा सहयोगी बनाउन स्वकीय सचिवालयसम्बन्धी व्यवस्था स्पष्ट गर्दै नेपाल राजपत्रमार्फत नयाँ प्रावधान लागू गरेको जनाएको छ।

